नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » साहित्यिक त्रिलोकेश : कुमार यात्रु

साहित्यिक त्रिलोकेश : कुमार यात्रु

कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालीसाहित्य फाँटका त्रिहस्ती हुन् । तीनैजना हस्तीको आफ्नै परिचय र आफ्नै स्थान छ । लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटालाई नेपालीहरू सरस्वतीका वरद पुत्रका रूपमा चिन्दछन् र त्यसै धरातलमा पूजा गर्दछन् । तर तीनै हस्तीको समानता नेपालीभाषा र साहित्यको साधनामा छ । तीनै हस्ताक्षरको कार्यकाल साँघुरो राजनीतिक परिस्थितिबीच रहेको भए तापनि उनीहरूले दर्जनौँ कृति नेपाली पाठकलाई दिए । फलस्वरूप ती महान् विचारक कलमवीरहरू हामीमाझ पूज्य ताराका रूपमा अजम्मरी छन् ।

म खाउँ मै लाउँ सुख सयल वा मोज म गरूँ
म बाँचूँ मै नाचूँ अरु सब मरुन् दुर्बल हउन् ।
भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी
चिता खित्का छाडी अभयसित हाँस्यो मरिमरी ।।

यस्ता मर्मस्पर्शी काव्यहरूको रचना गरी नैतिक शिक्षाको प्रसार गरेर जागरण गर्ने कवि नेपालिमात्रका आस्था र एकताका प्रतीक हुन् ।

नेपाली समाजमा भएको अभाव, पीडा र भेदभावका छिद्रलाई साहित्यमा ल्याएर समानता र मानवताको बिगुल फुक्ने बालकृष्ण समलाई नेपालीसाहित्यका पाठकहरू नाटयसम्राट् पदवी गुत्छन् । समले नाटक, कविता, काव्य, कथा, निबन्ध, प्रबन्ध एवं जीवनी लेखेर नेपालीसाहित्यलाई धनी बनाए । उनका मुटुको व्यथा, ध्रुव, मुकुन्द इन्दिरा, प्रह्लाद, अन्धवेग, भक्त भानुभक्त, प्रेमपिण्ड, अमरसिंह जस्ता दर्जनौँ नाटक प्रकाशित छन् । त्यसै गरी आगो र पानी खण्डकाव्य, चिसो चुह्लो महाकाव्य जस्ता काव्यकृति एवं दर्जनौँ कथानिबन्धका कृतिहरू नेपाली पाठकले पाइसकेका छन् ।नेपाली वाङ्मयका उपासक यी महान् व्यक्तित्वले आफ्नो नश्वर देहको त्याग गरे पनि उनको योगदान नेपाली माटोमा सगरमाथा भएर उभिएको छ ।

लक्ष्मीप्रसाद देवकोटा महाकवि हुन् । उनको आगमन नेपाली धरतीको सुनौलो घटना हो । मुनामदनजस्तो अति लोकप्रिरय कृतिका कृतिकार देवकोटाका नेपाली र अङ्ग्रेजीमा गरी एकाउन्नओटा पुस्तक प्रकाशनमा आएको अभिलेख छ । उनका शाकुन्तल महाकाव्य, लक्ष्मीनिबन्धसङ्ग्रह, कुञ्जिनी –खण्डकाव्य, सुलोचना, भिखारी, वनकुसुम, प्रमिथस, लक्ष्मीकथासङ्ग्रह, दाडिमको रूखनेर –निबन्धसङ्ग्रह आदि कृति अत्यन्तै चर्चामा छन् ।

 नेपाली साहित्यका अमर एवम् अद्वितीय प्रतिभा देवकोटाको भौतिक शरीर अस्ताए पनि हामीबीच उनका रक्तबीजका वैचारिक ठेलीहरू अझै बाँचिरहेकै छन् र भविष्यमा पनि बाँच्ने नै छन् ।

नेपाली साहित्यका यी तीनै व्यक्तिका कृतित्व, व्यक्तित्व एवम् उनीहरूको चिन्तनधाराबारे थुप्रै विद्वान् मनीषीहरूले व्याख्या,विश्लेषण गर्ने प्रयत्न गरेका छन् । आज यी तीनजनाका विषयमा सोध गर्नेको सङ्ख्या पनि दर्जनौँ पुगेको छ । तथापि यसलाई व्यवस्थित गरेर संस्थागत स्वरूपमा तिनलाई प्रचार गर्ने र सामान्य पाठकलाई सर्वसुलभ रूपमा उपलब्ध गराउने तौरतरीका मिलिसकेको छैन । कतिपय अप्रकटित पाटाहरू अझै आउनु बाकी नै छ । यस कार्यमा त्रिमूर्ति निकेतन लाग्ने विश्वास गर्न सकिन्छ ।

राजधानी दैनिक, २०६१ भदौ ११ गते शुक्रवार

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्ति अभिलेख

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख