तीन जनालाई त्रिमूर्ति पुरस्कार
•••
काठमाडौं, २०८० मङ्सिर १ गते
त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने प्रा.मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
साथै बहुचर्तित मालती मङ्गले नाटकमा मङ्गलेको सफल भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा उत्कृष्ट अभिनय गरेर जनप्रियता हासिल गर्नुहुने श्री हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसै गरी नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि छ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदान गर्नुका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याउनु हुने विराटनगर निवासी श्री जय पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेका छन् ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो ।
(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन

प्रा.मुकुन्दशरण उपाध्याय, श्री हरिबहादुर थापा र श्री जय पाण्डे
त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती
२०८०.७.२६
•••
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जयन्तीका उपलक्ष्यमा प्राकृतिक चिकित्सक तथा साहित्यकार डा.हरिप्रसाद पोखरेल ‘मानसाग्नी’ तथा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले आज महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँहरुले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो ।
सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभएको थियो ।
चिकित्सक तथा साहित्यकार डा.हरिप्रसाद पोखरेल ‘मानसाग्नी’को प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमका त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्नुभयो ।
कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईबाट मन्तव्य प्रकट हुँदै