नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » उदाहरणीय इतिहास : ईश्वरवल्लभ

उदाहरणीय इतिहास : ईश्वरवल्लभ

नइ नभएको भए यी त्रिकन्याहरू रचना सुब्बा, सङ्गीता आचार्य तथा प्रमिला विश्वकर्माले नेपाली वाङ्मय र साहित्यको इतिहास बनाउन नै पाउने थिएनन्, आज उनीहरूद्वारा अनावृत वाङ्मय स्थापत्यहरूले नेपाली साहित्य र संस्कृतिको विशुद्ध क्षितिजको स्पर्श गरेको कुराको भौतिक साक्ष्य बन्ने नै थिएन ।

    नइ नभएको भए कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको त्रिमूर्ति स्थापित हुने थिएन ।

    एउटा विशिष्ट साहित्य संयुक्तिको यो संयोजनको पुरोधा नै बनेको छ नइ, नेपाली साहित्यको इतिहासमा ।

   मानिसद्वारा केही आत्मरति र भूषाचारको लागि कहिले किंवदन्तीको रूपमा र कहिले केलिको रूपमा कल्पित त्रिमूर्तिविम्बलाई प्रस्तर तथा धातुको प्रतिमामा पनि अनूदित गरेर त्यो आधिभौतिकता तथा रहस्यलाई भौतिक प्रस्तुतिमा पनि अवतीर्ण गरेको छ नइले ।

   त्रिमूर्तिको संयुक्तिले नै अभूतपूर्व, विम्बमा पनि शायद कतै नभएको एउटा अध्यात्म तयार भएको छ ।

पाँचछ वर्षकै शिशुवयमा यी विशेष व्यक्तित्वहरूको स्थापत्य प्रतीकको अनावरण गर्ने मौका पाएको उनको यो अनुपम वर्तमान अब इतिहासका पानाहरूमा गहनतर रूपमा उल्लिखित र उत्कीर्ण हुँदै जानेछ । आचार्य,विश्वकर्मा वा सुधा अनेक दिनसम्म स्मृति संस्कृतिमा अविस्मरणीय हुने भए ।

    त्रिमूर्ति निकेतनले स्वयं ती त्रिकन्याको पढाउने अभिभारा पनि लिएको छ । त्यसको लागि दानवीर कर्णभन्दा पनि महान् व्यक्तित्व भूपालमानसिंह कार्कीकी स्वनामधन्य धर्मपत्नी भूमा कार्कीद्वारा नइकै संयोजनको आग्रहले अर्थराशि प्रदान गरिने भएको छ । ती परिवारहरू नै प्रत्याभूतिका महाविम्बहरू बनेका छन् ।

    त्यसैअनुरूप त्यसै क्रममा त्रिमूर्तिको निर्माणमात्रको लागि मात्र होइन, तत्सम्बन्धी अनेक सांस्कृतिक साहित्यिक कार्यको लागि पनि दाय प्रदायका विधाता भएका छन् सीताराम प्रज्ञाप्रतिष्ठान, भूपालमानसिंह कार्की प्रज्ञापरिषद्, देरुनिख सार्वजनिक हित गुठी तथा एकता प्रकाशनहरू ।

    यहाँ पनि यी संयोजन तथा आयोजनका विधि र युक्ति त भएकै हुन्  नइबाट । नइलाई अनेक आर्थिक  तथा भौतिक सहयोगले सहायता गर्ने प्राज्ञ घटराज भट्टराई जस्ता महामना व्यक्तिहरू पनि छन् ।

यसप्रकार नइ स्वयं पनि सौभाग्यशाली नै छन् , इतिहासले यो यथार्थ पक्कै स्वर्णाक्षरले लेख्नेछ ।

    हुनत एकातिर संस्कृति र इतिहासको निर्माणमा यस्ता विशिष्ट उदाहरणहरू तयार हुँदै छन् तर अर्कापट्टि कतै यही मुलुक वा माटोको आत्मालाई कालो छायाले ग्रस्त गर्ने डर छ ।

    त्रिकन्याहरू मञ्चमा फूलमालाले सुसज्जित रहँदा तिनीहरूबाट भर्खरै उद्घाटित तथा अनावृत त्रिमूर्तिको परिप्रेक्ष्यमा अर्को दुःसम्भावनाको दुःखमय कल्पनाले मेरो मानसमा कतैकतै चिसोले छोएको थियो ।

    हाम्रा अनेक यस्तै वर्तमानहरू छन् । असुरक्षित  अशुश्रूषित तिनलाई कतै बेच्नेहरू- मण्डीमा लगेर भन्ने डरको परिप्रेक्ष्यकै आभासमा कुनै सुन्दर इतिहास पनि बन्दै छ भने सुखानुभवको विरोधाभास पनि उत्पन्न भइरहन्छ ।

    ती तीनजना र त्यस्तै अनेकले कल्पना गरेको मुलुकको भक्ति वा देशभक्ति तथा माटोको मोहले पूर्ण “देशभक्ति त मर्दैन चुत्थै देश भए पनि” भन्ने जस्ता उक्तिले हामी सधैँ गर्वोन्नत हुन त सक्छौँ । सँगसँगै कतै मुलुकको सम्पूर्ण अस्मिता र वर्चस्वहरू नै लिलाम त हुने होइन भन्ने भयानक भय पनि लाग्दो छ । यस्तै अन्योलभित्र हामी हाम्रो संस्कृतिको निर्माण गरिरहेका छौँ ।

    सौन्दर्य र कमनीयता पनि पण्य र क्रयविक्रयको वाणिज्य भयो भने के गर्ने भन्ने डर पनि छ, शायद त्यस्तो हुँदैन भन्ने आश्वस्ति पनि छ ।  ती त्रिकन्या र तिनको इतिहास निर्माणकार्यको संलग्नताले यो देखाउँछ ।

    प्रत्याभूति पनि छ आजको वर्तमान त्यो दिन्छ । फूलमाला लगाएर मञ्चमा आसीन ती त्रिकन्या र त्रिमूर्तिहरूको मानस आभासले आश्वस्त गरिरहेछ ।

   हाम्रो मुलुक छिट्टै सारै राम्रो हुन्छ ; लागिरहेछ ।

    मैले कवि, लेखक, साहित्यकार नरेन्द्रराज प्रसाईले लेख्नुभएको पुस्तक समाजका केही चिन्तकमा लेखेको थिएँ, १५ वर्ष पहिले- ” आफुले गरेको काम मर्दैन भन्न त भन्छन् मानिसहरू तर ती कामहरूबारे लेखिदिने र भनिदिने नरेन्द्रराज प्रसाईजस्ता मोतीराम भट्टहरू भइदिएनन् भने जस्तासुकै महान् भानुभक्तहरू पनि समाजमा अपरिचित भएर बिलाउन सक्छन् ।”

    “अस्तिसम्म यी त्रिमूर्तिहरू मेरा समीप र आफुसित म सधैँ, यहाँ तिलगङ्गा आएर ; यो सार्वजनिक नहुन्जेल के कस्तो हुने हो ? सोचिरहन्थेँ, आजदेखि म मुक्त भएको छु, यो त्रिमूर्ति मेरो नेपालको भएको छ ’’ – नरेन्द्रराज प्रसाई भन्छन् ।

    छोड्नुहोस् यी कुराहरू, यी सबै अब अनिर्वचनीय भइसके । अब त उनले र उनका सहयोगीले सम्पन्न गरेका कार्यहरूलाई ‘नेतिनेति’ भन्नुपर्छ ।

   मेरो अहम्, मेरो सुख र आनन्द भन्ने कुरा त उहिले १५ वर्षपहिले नै नरेन्द्रराज प्रसाईमा खोजिइसकेको रहेछ । यी डेढ दशकहरूमा जीवनका सतत यात्राहरूमा तिनै सुख, आनन्द र कृतकृत्यताको अतिरेक झन्झन् बढिरहेछ – एकजना ठूला संस्कृति र वाङ्मयका प्रेमीलाई अर्थात् नरेन्द्रराज प्रसाई भाइलाई आदर र स्नेह गरेछु मैले त ।

    ती त्रिमूर्तिमा निहित ढलोट धातुका महावैभवहरूको भौतिक मूर्तिगत त्रिमूर्तिको मौनतासमक्ष आज यसवेला मांसल, जीवन्त तथा चेतन भएर पनि ती मूर्तिहरू जस्तै नरेन्द्रका अथवा नइका महाकार्यहरूसमक्ष म शब्दहीन मौनता मात्र साध्न सक्छु ।

    मेरो सुख भन्नु मेरो सार्थकता मात्र हो -१५ वर्ष पहिलदेखिको व्यतीत र यो अहिलेको वर्तमान समयबीच हामीले धेरै अनुभव गरिसकेका छौँ । मुटु दुखाइसकेका छौँ, मुटु सुम्सुम्याइसकेका छौँ ।

    दुःख र सुखहरूबीच नै रहेर नरेन्द्रराज प्रसाईले, इन्दिरा प्रसाई तथा घटराज भट्टराईजस्ता व्यक्तित्व र उनका सहयोगीहरूले मुलुकको माटो, हावा र पानी स्याहार्ने, सुसार्ने । त्यही गर्दै छन् यिनीहरू ।

    क्रूरता र हिंसाहिंस्रकताका मिथक बन्ने क्रम र संस्कृति बन्ने क्रमकै साक्ष्य हो  ऐतिह्य – यो त्रिमूर्तिनिर्माण र त्यसको सार्वजनिक प्रस्तुति पनि ।

   नरेन्द्र भाइलाई त के छ र उहाँ सुधी, समृद्ध र चेतनाले वैभवशाली भइसक्नुभएको छ, उहाँ अब आफ्नै हातले कमल दीक्षतिजस्ता अर्का वाङ्मय व्यक्तित्वलाई ‘आधुनिक मोतीराम भट्ट’को पगरी चढाउन सक्ने भइसक्नुभएको छ ।

कान्तिपुर दैनिक: २०६१ भदौ १९ गते

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्ति अभिलेख

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख