नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Home » आलोकको सञ्चार : घटराज भट्टराई

आलोकको सञ्चार : घटराज भट्टराई

त्रिभुवन विमानस्थलबाट गौशालातिर लाग्दा सडककै बायाँतर्फ सञ्चारग्राम छ । त्यस सडकबाट त्रिमूर्ति मन्दिरको मुकुट बनेर रहेका देखिन्छन् । यी त्रिमूर्ति कसका हुन् ?र किन एकैठाउँ रहे ?प्रश्न आउन सक्छन् । नेपालीभाषासाहित्यमा स्मारक राख्न लायक सयौँ प्रतिभा छन्-भानुभक्त, मोतीराम, शम्भुप्रसाद, लेखनाथ, बालकृष्ण सम, सिद्धिचरण, लक्ष्मीप्रसाद, हृदयचन्द्रसिंह, पारिजात आदि । सबैको एकैपटक स्मारक तयार गर्न सम्भव नभए पनि सयौँ लोकप्रिय प्रतिभाहरूमध्यबाट तीन प्रतिभाहरूको चयन गरी त्रिमूर्तिका रूपमा यहाँ स्थापना गरिएको छ । ती तीन प्रतिभा हुन्- कविशिरोमणि लेखनाथ पौडयाल,नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा । त्रिमूर्ति निकेतनले यी तीन प्रतिभाका पूर्ण कदका मूर्तिहरू एकै ठाउँमा राख्ने निर्णय गर्‍यो । आवश्यक सहयोग पनि जुटयो र निर्माण सम्पन्न भयो ।

नेपालभित्र यी तीनै प्रतिभाका पूर्ण कदका प्रतिमा बनेका देखिँदैनन् । त्यसमा पनि ती प्रतिमा एकै मन्दिरमा स्थापित हुनु नेपालकै लागि नयाँ कुरा हो ।

कविशिरोमणि लेखनाथ पौडयाल नेपालीसाहित्यको आधुनिक युगका प्रवर्तक मानिन्छन् । बुद्धिविनोद, सत्यकलिसंवाद, ऋतुविचार, तरुण तपसी, लालित्य जस्ता कविता र काव्यहरूका माध्यमबाट अत्यन्त लोकप्रिय र नेपाली जनताबाट सम्मान प्राप्त कवि हुन् । प्रजातन्त्रको आगमनसँगै कविशिरोमणि उपाधिबाट पनि सम्मानित प्रतिभा हुन् । पूर्वीय चिन्तनलाई कविता र काव्यका माध्यमबाट नेपाली जनजीवनसापेक्ष बनाएर सरल र कलात्मक रूपमा अभिव्यक्ति दिनमा उनी बेजोड प्रतिभा मानिन्छन् । उनको एक अभिव्यक्ति हेरौँ-

प्रत्येक पुष्पको रूप रङ्गरेखा अनेक छ ।
तर सौन्दर्यको ज्योति तिनमा भित्र एक छ ।।

नाटयसम्राट बालकृष्ण सम राणावंशमा जन्मे पनि नेपाली भाषासाहित्यका क्षेत्रमा समर्पित भावले क्रियाशील रही नेपाली जनताका सुखदुःख नाटक तथा काव्यमा उतारी बौद्धिक उचाइका दर्जनौँ गहन कृतिको सृजना गर्ने सफल प्रतिभा हुन् । मुटुको व्यथा, ध्रुव, मुकुन्द इन्दिरा, प्रह्लाद, अन्धवेग, भक्त भानुभक्त,म, अमरसिंह आदि नाटक चिसो चुह्लो –महाकाव्य, आगो र पानी खण्डकाव्य, मेरो कविताको आराधन –आत्मकथा,जस्ता कृतिका माध्यमबाट उनको योगदान महत्त्वपूर्ण छ । उनका सूक्तिमय, यथार्थपरक अभिव्यक्ति धेरै छन् । एक नमूना-

                      देशभक्ति त मर्दैन चुत्थै देश भए पनि ।
                      पतिभक्ति त मर्दैन जस्तै पति भए पनि ।।

महाकवि लक्ष्मीप्रसाद देवकोटा आधुनिक युगका बेजोड प्रतिभा हुन् । कविता,खण्डकाव्य,महाकाव्य र निबन्धलेखनका क्षेत्रमा उनले एक युगकै निर्माण गरे । सरलभन्दा सरल र कठिनभन्दा कठिन सृजनाद्वारा साधारण र बौद्धिक जगत्का सबैलाई प्रभावित पार्ने रचनाद्वारा बेजोड अभिव्यक्ति र काव्यकुशलता देखाएका छन् उनले । मुनामदन, कुञ्जिनी- जस्ता खण्डकाव्य, सुलोचना, शाकुन्तल, वनकुसुमजस्ता उनका महाकाव्य  विशेष चर्चित छन् । उनका अभिव्यक्तिको एक अंश जस्तै-

                       मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

सञ्चारग्राममा साहित्यिक प्रतिभा किन ? यस प्रश्नको उत्तर पनि सहज छ । रेडियो नेपाल, गोर्खापत्र जस्ता पत्रकारिताका आधार स्थलमा रहेर काम गर्ने सम पत्रकारितासँग सम्बद्ध व्यक्तित्व हुन् । देवकोटा युगवाणीको सम्पादन गरेर प्रजातन्त्रको उद्घोष गर्ने प्रतिभा भएकाले यस क्षेत्रबाट अलग होइनन्, कविशिरोमणि लेखनाथका रचनालाई तत्कालीन कुनै पनि पत्रिकाले महत्त्व दिएर छाप्ने गर्थे त्यस्ता रचनाले पत्रिकाको स्तर उकास्न सहयोग पुर्‍याउँथे भने यस्ता प्रतिभालाई पत्रकारिताक्षेत्रबाट अलग मान्न मिल्दैन । पेशागत रूपमा पत्रकारिताको विकास नभएका वेला यथाशक्य योगदान यी प्रतिभाबाट भएकै छ । यस दृष्टिले पनि सञ्चारग्राममा आलोक छर्न यी प्रतिभाका प्रतिमा सफल हुनेछन् ।

त्रिमूर्ति नै किन ? चार पाँच सात किन नहुने ? यो पनि प्रश्न उठ्न सक्छ । नेपाली परम्परामा मात्र होइन भौतिक तथा आध्यात्मिक क्षेत्रमा पनि तीनको महत्त्व निकै छ । ब्रह्मा, विष्णु र महेश्वर, – बिहान, दिवा र साँझ, महाकाली, महालक्ष्मी र महासरस्वती, भूत, भविष्य र वर्तमान, स्वर्ग, मत्र्य र पाताल, जिज्ञासु, मुमुक्षु र मुक्त । ज्ञान, भक्ति र वैराग्य, जीव, जगत् र ब्रह्म, बाल, वृद्ध र जवान, स्त्रीलिङ्ग, पुलिङ्ग र नपुंसकलिङ्ग, देव, दानव र मानिस,ठोस,तरल र ग्यास,प्रोटोन,न्यूटोन र इलेक्ट्रोन आदि । यसबाट त्रिमूर्तिको महत्त्व छ । यसमा पनि पूरा अध्यात्मवादी लेखनाथ, “ज्ञानविज्ञानको हात जोड्नुपर्दछ कर्ममा” भन्ने बालकृष्ण सम र अध्यात्मज्ञान भए पनि भौतिक संसारलाई महत्त्व दिएर अधिकांश सिर्जना गर्ने देवकोटाका प्रतिमाहरूको स्थापना एकै ठाउँमा हुँदा यसको व्याख्या आˆनै किसिमले गर्न सकिन्छ । चर्चा विवेचना हुँदै रहला ।

त्रिमूर्ति निर्माणका लागि सर्वप्रथम खाँचो थियो केही गरौँ भन्ने भावनाको, जरूरत थियो त्यसमा नइ अर्थात् नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको । नइकै संयोजनमा त्रिमूर्ति निकेतनको स्थापना भयो । नइकै सक्रियतामा सञ्चारग्रामस्थित चक्रपथमा जोडिएको जग्गा पशुपतिक्षेत्र विकास कोषबाट प्राप्त भयो । साथै श्री ५ को सरकार संस्कृति मन्त्रालय, भूपालमानसिंह प्रज्ञापरिषद्, सीताराम प्रज्ञाप्रतिष्ठान, एकता प्रकाशन, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान, बालकृष्ण सम फाउन्डेसन, खनुपरुदे सार्वजनिक हित गुठी जस्ता संस्थाहरूले सहयोग अर्पण गरे ।

मन्दिरको भित्री कक्षमा लेखनाथ,सम देवकोटाका ग्रन्थहरू,उनीहरूबारे तैयार भएका शोधग्रन्थ र लेखिएका कृतिहरू पनि राखिनेछन् । त्यहाँ उनीहरूबारे सुलभ दुर्लभ सामग्रीको सङ्ग्रह पुस्तकालय स्थापित हुनेछ । त्यसको लागि सलोमी तिमोथीले सहयोग गरेका छन् । सबैका आँखा पर्ने र सबैलाई आउनजान सजिलो पर्ने यस ठाउँमा त्रिमूर्ति रहनु नेपाली भाषासाहित्यमा रुचि राख्नेहरूको लागि एक महत्त्वपूर्ण कार्य भएको छ भन्नु अत्युक्ति हुँदैन ।

व्यक्तिगत घर त सबैले बनाएकै छन्,बनाउँछन् पनि । सार्वजनिक महत्त्वका यस्ता स्थलहरूको निर्माणमा त्यति ध्यान दिइँदैन । त्यस्तो काममा खटेर के फाइदा ?आजको स्वार्थी युगमा यसो भन्नेहरू पनि नभएका होइनन् । तर आफ्नो घर बनाउँदा जुन आनन्द वा सन्तुष्टि प्राप्त हुन्छ त्यसभन्दा धेरै बढी आनन्द र सन्तुष्टि यस्ता स्थलको निर्माणबाट प्राप्त हुन्छ भन्ने अनुभव भएको छ ।

जेजसरी भए पनि त्रिमूर्ति स्थापित भयो । त्रिमूर्ति निकेतन संस्था त छँदैछ । तर त्यसले मात्र हेरेर हुँदैन । सबैको सुदृष्टि यसमा रहनुपर्छ र मात्र यो सुरक्षति रहन सक्छ । त्रिमूर्तिको आलोकले नयाँनयाँ प्रतिभा जन्माउन र यस्तै सत्कार्य गर्न प्रेरणा र प्रोत्साहन दिएमा त्रिमूर्ति निकेतनपरिवारलाई अरु सन्तुष्टिको अनुभव हुनेछ ।

 कान्तिपुर, २०६१ असोज ७ गते, बिहीवार

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश

घटराज भट्टराई

संस्थापक अध्यक्ष (१९९९-२०६३)

त्रिमूर्ति अभिलेख

त्रिमूर्तिगाथा

देवकोटा शताब्दी अभिलेख