पाँचौ त्रिमूर्ति दिवस
पाँचौ त्रिमूर्ति दिवसमा चार जनालाई त्रिमूर्ति सम्मान
काठमाडौं, नेपाल, २०६६ साल भदौ ११ गते (२७- ८- ०९)
पाँचौ त्रिमूर्ति दिवसका अवसरमा सुप्रसिद्ध साहित्यकार श्री सत्यमोहन जोशीले डा.बमबहादुर थापा 'जिताली', डा. देवीप्रसाद सुवेदी र कञ्चन पुडासैनीलाई 'लेखनाथ काव्य सम्मान' 'बालकृष्ण सम सम्मान' र 'देवकोटा काव्य सम्मान' प्रदान गर्नुभयो । ताम्रपत्रसहित यी सम्मानका राशि जनही दस हजार रुपियाँ रहेका छन् । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि गरेको योगदानका लागि उहाँहरूलाई यी सम्मान प्रदान गरिएको हो ।
समारोहमा काठमाडौं महानगरपालिकालाई पनि त्रिमूर्ति उद्यानको संरक्षणमा योगदान पुर्याएबापत त्रिमूर्ति सम्मान प्रदान गरिएको थियो ।
त्रिमूर्ति निकेतनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न पाँचौ त्रिमूर्ति दिवस सारोहमा लेखनाथ पौड्याल काव्यसभाका संयोजक खनूप्रुदे रामबाबू, बालकृष्ण सम फाउनडेशनका संयोजक प्रा.डा. गार्गी शर्मा, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.ठाकुर पराजुली, त्रिनारीरत्न स्मारकका संयोजक डा.मोदनाथ प्रश्रति र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति र पुरस्कृत व्यक्तित्वका विषयमा बोल्नुभएको थियो ।
नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कवितारचनाका माध्यमबाट सृजनाका क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुका साथै कविशिरोमणि लेखनाथ पौड्यालको विषयमा विद्यावारिधि समेत गरेबापत डा.बमबहादुर थापा जितालीलाई 'लेखनाथ काव्य सम्मान' प्रदान गरिएको हो ।
यसै गरी लगभग आधा शताब्दीदेखि सृजनात्मक र समालोचनात्मक लेखनका अतिरिक्त नाट्यसम्राट् बालकृष्ण समको जीवनी लेखनका साथै समका बारे विद्यावारिधिसमेत गरेबापत डा. देवीप्रसाद सुवेदीलाई 'बालकृष्ण सम सम्मान' प्रदान गरिएको हो ।
साथै आधा शताब्दीअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रही शास्त्रीय, मात्रिक एवम् लोकछन्दका कवितारचनामार्फ नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्याउनुका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाको निजी सहायकका रूपमा रही देवकोटाको सृजना परिमार्जनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेबापत श्री कन्चन पुडासैनीलाई 'देवकोटा काव्य सम्मान' प्रदान गरिएको हो ।
|