जीवन्त स्मारक : रचना साहित्यिक पत्रिका
कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा यी तीनजना स्रष्टा नेपालीवाङ्मयका अमर विभूति हुन् । नेपालीभाषा र साहित्य यिनका सिर्जनाले गर्दा अत्यन्त ओजोयुक्त भएर विश्वसाहित्यसँग कुम जोर्दै आफ्नो आभा फैलाइरहेछ आज । आजका सिर्जनशील पुस्ता यिनै त्रिमूर्तिका कृतिहरूबाट प्रेरित, प्रभावित भएर सिर्जनात्मकतातर्फ सशक्त पाइला अघि बढाइरहेका छन् । यस्तो वन्दनीय कार्यले राष्ट्रको गौरव बढाउँछ यी तीन विभूतिहरूको भव्य स्मारक राजधानीको तिलगङ्गास्थित सञ्चारग्राममा स्थापना गरिनु समस्त नेपाली समाजको निम्ति ठूलो हर्षो विषय हो । त्रिमूर्ति निकेतनद्वारा स्थापित लेखनाथ, बालकृष्ण र लक्ष्मीप्रसाद यी तीन प्रतिभाका पूर्ण कदका ढलौटनिर्मित भव्य सालिकहरूको उद्घाटन गत भदौ १ गते तीनओटी बालिका प्रमिला विक, रचना सुब्बा र सङ्गीता आचार्यका हातबाट सम्पन्न गराइयो । त्रिमूर्ति निकेतनले स्मारक स्थलमा सुन्दर उद्यान बनाएर त्यस ठाउँलाई झन् रमणीय बनायो । स्मारक भवनको सङ्ग्रहालयमा यी तीनजना स्रष्टाहरूसँग सम्बद्ध पुस्तक, पत्रपत्रिका र अन्य सामग्रीहरू समेत सङ्कलन गरेर राखिनु अर्को र्सार्थक काम भयो । यी त्रिमूर्तिहरूका व्यक्तित्व र कृतित्वबारे जानकारी राख्न र शोधकार्य गर्न इच्छुकहरूले त्यस सङ्ग्रहालयबाट पर्याप्त लाभ उठाउन सक्नेछन् । स्थापित प्रतिमाहरूको संरक्षण गर्दै जाने, त्रिमूर्तिका कृतित्वको व्याख्याविश्लेषण र चिन्तन गर्ने, त्रिमूर्तिसँग सम्बद्ध कृतिहरूको पुस्तकालय सञ्चालन गर्ने, नेपालीस्रष्टाहरूबारे अध्ययन अनुसन्धान गराउने, नेपालीभाषाको प्रचार गर्ने, स्रष्टाहरूको सम्मान गर्ने, वाङ्मयिक सभागोष्ठीहरूको आयोजना गर्ने आदि उद्देश्य लिएर त्रिमर्ूर्ति निकेतन स्थापित भएको छ ।
यस्तो र्सार्थक र समाजोपयोगी काममा लागिपर्ने उत्साही व्यक्तिहरूलाई हौसला दिन हामीले कन्जुस्याई गर्नु हुँदैन । नेपालीवाङ्मयका यी त्रिमूर्तिहरू राष्ट्रका गौरव हुन् । त्यस्ता अमर साधकहरूका स्मारक सञ्चारग्राममा बनाउने स्वीकृति दिएर सरकारले प्रशंसनीय काम गरेको छ । पत्रकारिताक्षेत्रका केही व्यक्तिले यस्तो अनुकरणीय काममा निर्रथक विवाद उठाएको पनि देखियो । सञ्चारग्राममा सञ्चारकर्मी र पत्रकारकै सालिक राख्नुपर्ने धारणा तिनको थियो । के यी त्रिमूर्ति नेपालिमात्रका गौरव होइनन् - त्यसमा पनि बालकृष्ण सम गोर्खापत्रका प्रधान सम्पादक थिए, लक्ष्मीप्रसाद देवकोटा युगवाणी र इन्द्रेणीको सम्पादनमा संलग्न थिए, लेखनाथ पौडयाल पनि तात्कालिक साहित्यिक प्रकाशनहरूस“ग सम्बद्ध व्यक्ति नै थिए भने यिनलाई गैरपत्रकार भनेर विरोध गर्नु पनि कसरी तर्कसम्मत मान्ने - साहित्यकार होस् कि पत्रकार राष्ट्रिय गौरव बढाउने आफ्ना यशस्वी पुरुखाहरूको स्मृतिलाई जीवन्त पार्न गरिने कुनै पनि र्सार्थक कामलाई खुला हृदयले स्वागत गर्ने बानी बसाल्नुपर्छ हामीले । छिद्रान्वेषण र अनावश्यक विवादले समाज र राष्ट्रको हित कदापि गर्दैन ।
राजधानीको महत्त्वपूर्ण ठाउँमा अनेक बाधाविरोधसँग कुस्ती खेल्दै सफल भई अनुकरणीय उदाहरण प्रस्तुत गर्ने त्रिमूर्ति निकेतनका पदाधिकारीहरूलाई जति जस दिए पनि पुग्दैन । भविष्यमा यस्ता सार्थक काममा लागिपर्ने जाँगर तिनमा अझ झाङ्गिँदै जाओस् ! यही छ हाम्रो शुभ कामना ।
रोचक घिमिरे (सम्पादक)
२०६१,कात्तिक-मङ्सीर
|