Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

रमाइलो कुरा : अभिव्यक्ति



नेपालीवाङ्मयक्षेत्रका प्रसिद्ध साधक नरेन्द्रराज प्रसाईले भूपालमानसिंह प्रज्ञापरिषद् र सीताराम प्रज्ञाप्रतिष्ठान जस्ता विशिष्ट संस्थाको स्थापना गरेर,गराएर ती संस्थाहरूबाट विभिन्न पुरस्कारहरूको सञ्चालन गरेर नेपालीवाङ्मयको क्षेत्रमा विशिष्ट कार्य गर्दै आउनुभएको कुरा वाङ्मयक्षेत्रमा चासो राख्ने सबैलाई अवगतै छ । हाल उहाँकै परिकल्पना, परियोजना र कार्यान्वयनसमेतको सक्रियतामा गत भाद्र १ गते शुक्रवार काठमाडौमा एउटा अर्को महान् कार्य सम्पन्न भएको छ । एक भव्य समारोहबीच त्रिमूर्ति अर्थात् नेपाली साहित्यका तीन महापुरुष; कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रतिमाको अनावरणसमारोह सम्पन्न भएको छ ।

काठमाडौको पूर्वी क्षेत्रमा पशुपतिछेउ सञ्चारग्रामको मध्यमा त्रिमूर्तिनिर्माणस्थल निर्धारित गरी त्यहाँ एक सुन्दर पुष्पवाटिकाबीच एउटा सुन्दर पुस्तकालयकक्षको निर्माण गरी त्यसको छतमा उक्त त्रिमूर्तिका लगभग छछ फिटका सालिकको स्थापना गरिएको छ । यी सालिकको अनावरण कुनै मन्त्री वा नेताको हातबाट नगराई तीनजना सामान्य विद्यार्थी बालिकाहरू- प्रमिला विक, रचना सुब्बा र सङ्गीता आचार्यका निरपराध कलिला हातबाट गराइएको छ ।

सालिक स्थापनाका साथै त्रिमूर्ति निकेतनले अरु पनि कतिपय प्रशंसनीय कार्यहरू गरेको छ । प्रथमतः स्थापना गरिएका सालिक, पुस्तकालय एवं पुष्पवाटिकाको दर्घकालीन हेरचाह, स्याहारसम्भार र संरक्षणको पनि राम्रो व्यवस्था मिलाएको छ । यस्तै, सालिकको अनावरण गर्ने सौभाग्य प्राप्त गरेका बालिकाहरू प्रमिला, रचना र सङ्गीतालाई स्नातक तहसम्मको अध्ययनक्रममा आवश्यक सम्पूर्ण शुल्क तिर्ने जिम्मा पनि त्रिमूर्ति निकेतनले लिएको छ ।

यस शुभ कार्यमा धेरै स्वनामधन्य साहित्यप्रेमी व्यक्तित्वहरूको प्रत्यक्षपरोक्ष संलग्नता रहेको छ । कसैले मन खोलेर आर्थिक सहयोग गर्नुभएको छ भने यस्तै, कसैले सकेसम्म श्रम र समयको लगानी गर्नुभएको छ । यस्तै, कसैकसैले मुखैले हुटहुटी लगाएर पनि ठूलै सहयोग गर्नुभएको छ । यसरी सहयोग गर्नुहुनेहरूमा र्सवश्री सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रकवि सम्माननीय माधव घिमिरे, वसन्तकुमार चौधरी, श्रीमती भूमा कार्की, सीताराम प्रसाई, खनुपरुदे 'रामबाबु', रामचन्द्र तिमोथी, श्रीमती सिन्धुराज्यलक्ष्मी राणा, श्रीमती सलोमी तिमोथी लेप्चा आदिआदि हुनुहुन्छ ।

उपर्युक्त सबै नामहरू महत्त्वपूर्ण छन्, प्रशंसनीय छन्, यसमा कुनै सन्देह छैन । तर यी सबै नामहरूलाई यस महायज्ञमा संलग्न हुन प्रेरित गर्ने नाम हो नरेन्द्रराज प्रसाई । यत्रो महान् कार्य सम्पन्न गर्न कति दुःखकष्ट सहनुपर्‍यो होला, अनुनयविनय गर्नुपर्‍यो होला, कति ओठमुख सुकाउनुपर्‍यो होला, त्यो सबै नरेन्द्रराज प्रसाईलाई नै थाहा होला । नरेन्द्र प्रसाई अर्थात् नरेन्द्रराज प्रसाई अनि इन्दिरा प्रसाई र घटराज भट्टराई ।

यसरी ती त्रिमूर्ति अर्थात् कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मान गरेर यी त्रिमूर्ति अर्थात् नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई एवं घटराज भट्टराई स्वयं सम्मानित भएका छन्, उदाहरणीय भएका छन् । यी त्रिमूर्तिमा यस्ता अन्यान्य सत्कार्य पनि सम्पन्न गर्दै जाने इच्छा पलाओस्, हौसला बढोस्, ऊर्जा र क्षमतामा पनि निरन्तर वृद्धि हुँदै जाओस्- यही शुभ कामना छ ।

नगेन्द्रराज शर्मा
(सम्पादक: अभिव्यक्ति) २०६१ कात्तिक


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies