Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

पवित्र स्थल : हिरण्यकुमारी पाठक


साहित्यक्षेत्रमा अनेक रोचक क्रियाकलापद्वारा हलचल मचाउने जोडी नइको मुखारविन्दबाट मैले वारंवार त्रिमूर्ति निकेतनको वीजारोपणबारे सुन्दै आएकी थिएँ । नइको भावनालाई पूर्ण रूपमा सघाउने प्रयास सबैले गर्न आह्वान समेत गरिएको चर्चा सुन्दै आएको धेरै भएको थिएन ।  एकदिन त्रिमूर्ति निकेतनको उद्घाटनको निम्तो आउँदा म त छक्क परेँ । कत्रो साहस, कत्रो लगनशीलता र विलक्षण अठोट ! तब त यति छिटो यसरी यो अद्वितीय कार्य पूरा भएको भन्ने मैले निष्कर्षनिकालेँ । एकैछिन त मलाई नइजोडीप्रतिर् इर्ष्या पनि जागरित भयो ।

 नइले कसरी एकजूट भएर कठिनभन्दा कठिन कार्यलाई सफल बनाई नेपालको इतिहासमा नै नयाँ कीर्तिस्तम्भ  स्थापित गरे ? आँटेपछि पूर्ण हुन्छ भन्ने उखानलाई चरितार्थ गरे इन्दिरा प्रसाई र नरेन्द्रराज प्रसाईले ; नेपालीसाहित्यको इतिहासमा एउटा उदाहरण नै प्रस्तुत गरिदिएर । यो कुरा भन्न त सजिलो छ त्यो विराट् कार्य सम्पन्न गर्न नइलाई फलामको च्यूरा चपाएजत्तिकै भयो भन्ने कुरो हामीले बिर्सनु हुँदैन ।

कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा हाम्रो देशका यी साहित्यिक खम्बाहरूलाई त्रिमूर्ति निकेतनमा त्रिमूर्तिको रूपमा प्रतिष्ठापित  गरिएको सुखद बेहोराले नेपाली साहित्यजगत् रमाएको छ । सञ्चारग्राममा उभिएका यी नेपाली मूर्धन्य साहित्यकारहरू देशको गतिविधिलाई सदैव नियालिरहेका प्रत्यक्ष देखिन्छन् । त्रिमूर्तिको निर्माण गरिएको ठाउँ हाम्रो पवित्र स्थल हो र नेपाल अधिराज्यको राजधानीको मोहक स्थान त्रिभुवन विमानस्थल र भगवान् श्रीपशुपतिनाथको मन्दिरपरिसरको बीचमा पर्ने स्थान हो । खुला आकाशमुनि प्रतिविम्बित यी मूर्धन्य साहित्यकारहरूले देशमा आउने सम्पूर्ण पर्यटकहरूलाई आकषिर्त गरेका छन् । सडकबाटै जुन बटुवाको पनि दृष्टि पुग्ने गरी यो त्रिमूर्ति निकेतन स्थापित भएको छ । एकैछिन बाटोमा उभिएर त्रिमूर्ति निकेतनपट्टि दृष्टि दिँदा सरस्वतीका वरद पुत्रहरूको आकर्ष मूर्तिले शान्तिप्रदान गरेझैँ अनुभव हुन्छ । अझ झन् साहित्य प्रेमीहरूका नेत्रहरू त त्रिमूर्तिसामु पुगेपछि स्वतः श्रद्धासहित  नतमस्तक हुन्छन् । स्थानको छनोट र निकेतनको आकर्ष कलाकौशलले जुनसुकै व्यक्तिलाई पनि एकपटक त्रिमूर्तितिर नजर दौडाउन बाध्य तुल्याइदिन्छ ।

      त्यस ठाउँमा टक्क अडी  देशका यी तीन विभूतिहरूको सौर्न्दर्य  हेर्दा साहित्यलाई त्रिमूर्तिले दिएको योगदानबारे अनायास नै चर्चा शुरू भइहाल्छ र हृदयले आत्मसात् गर्दछ ।

२०६१ भदौ ११ गते एउटा पर्व नै बन्यो । त्रिमूर्तिस्थलको प्राङ्गणमा झलमल सिल्कको परफराउँदो पालले त्यस क्षेत्रलाई आकर्ष तुल्याएको थियो । बाहिर सडकदेखि नै मोटरका लाइन र मानिसहरूको हलचलले त्यस क्षेत्रमा हि“ड्ने बटुवाहरू एकैछिन के रहेछ यहाँ आज भनेर टक्क अडी सोधिहाल्थे । देशका अग्रज साहित्यकारका मूर्ति र भवनको उद्घाटनसमारोहको जानकारी पाउँदा सबैको अनुहारमा प्रसन्नता पनि देखिन्थ्यो र 'अहो यो त एउटा राम्रो काम भएछ !' भन्ने प्रतिक्रिया पनि सुन्न पाइन्थ्यो । त्यतिवेला म आफुलाई पनि अत्यन्त प्रसन्नताको अनुभव हुन्थ्यो, आफु पनि एउटा र्सजक कलम चलाउने भएको नाताले होला हृदय यसै प्रफुल्ल हुन्थ्यो ।

 कार्यक्रमस्थलमा नेपाली वेशभूषामा भित्रेकी, कार्यक्रम तथा निकेतनकी जन्मदात्री इन्दिरा प्रर्साईको प्रसन्नताले भरिएको अनुहार एकैछिन हेरिरहूँ जस्तो लाग्यो । इन्दिराको अनुहार खुशीले चम्केको थियो । ठूलो रातो टीकामा कालाकाला ठूला लाम्चा गाजले आँखा र हँसिलो मुहारमा सेता मोतीका दानाले सबैलाई स्वागत गरिरहेको दृश्य अत्यन्त मनोमोहक थियो । उता नरेन्द्रराज प्रसाई आफ्नो उत्सवको सुखद आनन्द तथा प्रफुल्लता, उत्सुकता र गरिमानुभूति आफैभित्र लुकाउँदै अतिथिगणको स्वागतसेवामा तल्लीन देखिन्थे । कार्यक्रममा त्यस्तो न्यानोपन र आत्मीयता विरलै पाइन्छ । कार्यक्रमको शुरुआत नै  सरस्वतीकी वरदपुत्री इन्दिरा प्रसाईको प्रखरवाणीयुक्त उद्घोषणबाट भयो । सारा कार्यक्रमको सञ्चालन उहाँबाटै भएको थियो । इन्दिराबाट बडो मधुर र आकर्ष वातावरणमा त्रिमूर्ति निकेतनको बीजारोपण, कार्य शुरू गर्दा आइपरेका कठिनाइहरू र अवरोधहरूको बाबजूद  धैर्य र आस्थासाथ लागिपर्दाका पलहरूबारे र क्रमैसँग दाताहरूको दानवीरताले गर्दा निकेतनको स्थापना हुन सकेको जस्ता कुराबारे एकपछि अर्का गर्दै सबै बेहोरा चलचित्र झैं  प्रस्तुत हुँदै गए । यसको रसास्वादन उपस्थित अतिथिहरूले मन्त्रमुग्ध भई गरे ।

कार्यक्रमको अर्को महत्त्वपूर्ण गरिमा थियो  त्रिकन्याबाट त्रिमूर्तिको उद्घाटन ! कस्तो नौलो र ऐतिहासिक गरिमामय सोचाइ फुरेको नइको मनमा ! कम आयस्रोत भएका कन्याहरूको छनोट गरियो । सानैदेखि उनीहरूमा साहित्यप्रति अभिरुचि जागरित गराई, छात्रवृत्तिको समेत व्यवस्था गरी देशसेवा गर्न अग्रसर भई सफल उद्देश्य लिई जीवनमा अघि बढ्न बाटो देखाउने प्रयास नइ जोडीले गरिदिए ।

त्रिमूर्तिको उद्घाटनको लामो कार्यक्रम कति उत्साह र उमङ्गसाथ एकैछिनमा समाप्त भयो ! पत्तै भएन । अनेक विद्वान्, निकेतनको स्थापनामा सहयोग दिने दाताहरू र आफ्नो कलाले त्रिमूर्तिलाई चिरजीवन दिने हस्तीहरूको चिनारी एकै छातामुनि  गराइएको अद्भुत दृश्य देख्न पाइयो त्यसदिन ।

त्रिमूर्ति निकेतनको उद्घाटन भयो । अब यसले निरन्तरता पाउनुपर्छ । यसको संवर्धन र संरक्षण गर्ने उपयुक्त निकायको स्थापना गर्न सबैले पहल गर्नुपर्छ । अब त्रिमूर्तिको स्थापना त भयो तर  देशका सम्पूर्ण साहित्यप्रेमी तथा बुद्धिजीवी नागरिकले सचेत भई यसको निगरानी गरेर तन, मन, धनले सहयोग गर्नु अत्यन्त जरूरी छ ।

नारीजागरण : २०६१ फागुन


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies