Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

सार्थक सन्देश : श्रीओम श्रेष्ठ रोदन


कुनै देशको स्थिति बुझनुपर्‍यो भने त्यस देशको साहित्य, कला, संस्कृति बुझनुपर्छ । त्यसैले भनिएको छ- जुन देशमा स्रष्टाको सम्मान हुन्छ त्यस देशप्रति अर्को देशले हर्ने दृष्टिकोण पनि सकारात्मक रहने गर्छ । त्यही कारण हुन सक्छ विश्वका विकासोन्मुख मुलुकको तुलनामा विकसित मुलुकहरूमा राष्ट्रले गौरवयोग्य प्राज्ञिक व्यक्तित्वहरूको मूर्ति र्सार्वजनिक रूपमा राख्ने  गरेको हुन्छ ।

यसैलाई आत्मसात् गरेर नेपालीभाषा, साहित्य र पत्रकारिताका क्षेत्रमा अनुकरणीय योगदान पुर्‍याएका तीनजना साधक तपस्वीहरूको मूर्ति एकसाथ काठमाडौँको तिलगङ्गास्थित सञ्चारग्राममा स्थापित भएको छ । नेपालीसाहित्यको आधुनिक कालका प्रवर्तक कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकद ढलौटको मूर्ति एकै स्थानमा स्थापित गरेर त्रिमूर्ति निकेतनले वन्दनीय कार्य गरेको छ ।

एक राष्ट्रका व्यक्तिलाई अर्को राष्ट्रमा पाइला टेक्नासाथ जसरी त्यहाँको प्राकृतिक सौर्न्दर्यले प्रभाव पार्दछ त्यसरी नै त्यस देशका प्राज्ञिकहरूप्रति गरिएको सम्मानले पनि प्रभाव पार्दछ । त्रिभुवन विमानस्थलको परिसरमा त्रिमूर्तिका भव्य मूर्तिहरू स्थापित भएको हुँदा कुनै पनि राष्ट्रबाट आएका विदेशीले नेपाली भूमिमा उत्रनासाथ प्राकृतिक सुन्दर दृश्यहरूको अतिरिक्त स्रष्टाहरूप्रति गरिएको सम्मान पनि देख्दा मुलुकप्रति निश्चय पनि सकारात्मक दृष्टिकोण पर्नेछ । किनभने यो अघोषित अन्तरराष्ट्रिय मान्यताजस्तै बनेको छ । राष्ट्रिय प्रतिभाको सम्मान समग्रमा राष्ट्रकै सम्मान हो भन्ने धारणा सबै मुलुकमा छ । सरकारले पनि त्रिमूर्तिस्थललाई राजपत्रमा समेत प्रकाशित गरेको छ । यसबाट त्रिमूर्ति निकेतनलाई वैधानिक मान्यता प्रदान गर्नु सँगै राष्ट्रिय प्रतिभाको सम्मान गर्न पनि सरकार प्रतिबद्ध भएको तथ्य  प्रमाणित भएको छ ।

कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा तीनैजनाका मूर्ति किन एकैसाथ स्थापित भए भन्ने जिज्ञासा पनि उठ्न सक्छ । त्यसै पनि यी तीनको नेपाली परम्परामा ठूलो महत्त्व रहेको छ । नेपाली साहित्यको आकाशमा पौडेल, सम र देवकोटालाई त्रिमूर्तिको रूपमा सं. २००९ सालमा घोषित गरिएको थियो । यो नेपाली साहित्यका तीन ओजस्वी साधक दार्जीलिङभ्रमणमा जाँदा प्रस्तावित संयुक्त विशेषण थियो । यसले पा“च दशकपछि मूर्त रूप लिएको छ ।

त्रिमूर्तिमध्ये कविशिरोमणि लेखनाथ पौड्याल नेपाली साहित्यको आधुनिक कालका प्रवर्तक हुन् । लेखनाथ पौडयालले नेपाली भाषाशैलीमा परिष्कार ल्याए । उनी कवितालाई सौर्न्दर्यमय बनाएर पूर्वीय जीवनदर्शनको सन्देश प्रदान गर्न र्समर्थ भए । उनलाई राष्ट्रपिता श्री ५ त्रिभुवनको शुभ जन्मोत्सवको अवसर पारेर सं. २००८ साल असार २९ गते कविशिरोमणिको उपाधि प्रदान गरिएको थियो, सं. २०११ पूसमा रथयात्रा गरी र्सार्वजनिक अभिनन्दन गरिएको थियो ।

नाट्यसम्राट् बालकृष्ण सम नेपाली वाङ्मयका महान् साधकका रूपमा सम्मानित विशिष्ट प्रतिभा हुन् । कथा, कविता, निबन्ध र नाटकका सशक्त प्रतिभा समलाई त्रिभुवन विश्वविद्यालयले साहित्यमा विद्यावारिधिको विशेष उपाधि प्रदान गरेको थियो । नेपाली भाषा साहित्यको विकास र प्रवर्धनमा पुर्‍याएको विशिष्ट योगदानको अतिरिक्त उनले प्रजातन्त्रको उदयपछि रेडियो नेपालको निर्देशक र गोर्खापत्र पत्रिकाको प्रधानसम्पादक भएर काम गरे ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली वाङ्मयको क्षेत्रका अनुपम र अद्भुत प्रतिभाका धनीका रूपमा स्थापित छन् । अलौकिक सिर्जनशीलताका प्रखर व्यक्तित्व देवकोटाले विविध क्षेत्रमा आफ्नो प्रतिभा रहेको प्रमाणित गरेका छन् । उनले मुलुकमा प्रजातन्त्रस्थापनाको लागि बल पुर्‍याउन सं. २००४ मा युगवाणी पत्रिकाको कुशल सम्पादन गरेका थिए । साहित्यका विभिन्न विधालाई समृद्ध गराएर अन्तरराष्ट्रिय क्षेत्रमा नेपालीभाषासाहित्यलाई चिनाउन र्समर्थ महाकवि देवकोटाले नेपाली पत्रकारिताको विकासमा पनि ठूलो गुन लगाएका छन् । उनको प्रतिभाको कदर गरेर नै जनताले देवकोटालाई महाकवि उपाधि प्रदान गरेको हो । यस्ता तीनजना महापुरुषहरूको पूर्ण कदको मूर्ति पहिलोपटक स्थापित हुनु स्वयंमा कीर्तिमान हो भने तीनवटै मूर्ति एकसाथ राखिनु अर्को गौरवको विषय हो । मुलुकको प्रतिष्ठा बढाउने साधकहरूको प्राज्ञिक योगदानको सदा सम्मान गर्न  सक्नुपर्छ । अमर प्राज्ञहरू जहिले पनि विवादमुक्त हुन्छन् । तर केहीले अनभिज्ञतापूर्वक त्रिमूर्ति निर्माणस्थलबारे विवाद गरेको पाइन्छ । त्यसलाई गरीब मानसिकताको उपज मात्र मान्न सकिन्छ, किनभने भाषासाहित्य सञ्चारको पनि माध्यम हो । भाषा साहित्यको विकासबाट नै सञ्चारको विकास हुन्छ । त्रिमूर्तिले प्रत्यक्ष रूपमै भाषा साहित्यमार्फत ­नेपाली पत्रकारितालाई पुर्‍याएको योगदानलाई छोपेर इतिहास बिगार्न मिल्दैन । सामान्य मान्छेका स्थान निश्चित हुन्छन्, तर महान् आदर्श भएका व्यक्तिहरू स्थान विशेषमा सीमित हुँदैनन् । तिनको लागि सबै ठाउँ आफ्नै हुन्छन् । भनिएकै छ- विद्वान्को र्सवत्र पूजा हुन्छ । यस्ता विद्वान्हरूको मूर्ति रहने सौभाग्य पाएर सबै स्थान वा क्षेत्र धन्य हुन पुग्छन् । यसमा स्थानीय बासिन्दाले पनि गौरवको अनुभव गर्नुपर्छ । त्यसैले त नेपालमा जन्मेका गौतम बुद्धका मूर्ति संसारभरि गौरवसाथ राखिएका छन् । नेपालका कलाकार अरनिकोको मूर्ति चीनमा सम्मानजनक रूपमा राखिएको छ, आदिकवि भानुभक्त आचार्यका मूर्तिहरू छिमेकी मुलुक भारतमा गौरव र श्रद्धापूर्वक राखिएका छन् । चीनकै ह्लासामा नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको मूर्ति स्थापित छ । यी त केही उदाहरण मात्र हुन् ।

मानवजीवन नश्वर छ । जन्म र मृत्यु एक अर्काका परिपूरक हुन् । तर जीवनकालमा कमाइएको कीर्ति कहिल्यै मर्दैन । यसले मानिसलाई मृत्युपश्चात् पनि अमर बनाएर राख्छ भन्ने सन्देश प्रवाहित भएको छ त्रिमूर्तिको निर्माणबाट । मुलुकको लागि आदर्श काम गर्ने साधकहरूको कदरबाट नयाँ पुस्तालाई अर्थपूर्ण सन्देश प्राप्त हुन्छ । सामान्यदेखि उच्च तहसम्मका पाठयक्रममा पढ्नैपर्ने व्यक्तित्वहरू र उनीहरूका रचनाबारे अध्ययन गर्न दश ठाउँमा भौँतारिनु नपर्ने भएको छ त्रिमूर्तिको निर्माणले । कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् सम र महाकवि देवकोटाद्वारा लिखित र त्रिमूर्तिबारे लेखिएका कृति र शोधग्रन्थहरू समाविष्ट गरेर पुस्तकालयको सञ्चालन पनि गरेको छ त्रिमूर्ति निकेतनले ।

यसै गरी त्रिमूर्ति निर्माणले गर्दा कङ्क्रिटमा परिणत हुँदै गएको काठमाडौँको एउटा सानो स्थानमा भए पनि सुन्दर उद्यानको निर्माण भएको छ । यसलाई पनि उपलब्धिकै रूपमा   लिनुपर्छ ।

हाल केही समयदेखि सानोभन्दा सानो काम गर्दा पनि ठूलोभन्दा ठूलो पदका व्यक्तिलाई प्रमुख अतिथि बनाएर बढी चर्चा खोज्ने प्रवृत्ति बढिरहेको समयमा त्यत्रा महान् तीनजना विभूतिहरूको मूर्तिको अनावरण तीनजना गरीब कन्याहरूबाट गराइयो । यो आदर्श उदाहरण हो । यसबाट नयाँ परम्पराको थालनी भएको मान्नुपर्छ ।

त्रिमूर्तिको निर्माण र अनावरणले त्रिकन्याको आर्थिक उपकार पनि गरेको छ । निर्धन परिवारका बालबालिकालाई न्यूनतम शुल्क लिएर अध्यापन गराइने समता शिक्षा निकेतनका त्रिकन्या प्रमिला विश्वकर्मा, रचना सुब्बा र सङ्गीता आचार्यलाई स्नातक तहसम्मको अध्ययनको लागि खर्चको व्यवस्था त्रिमूर्ति निकेतनले गरिदिने भएको छ । यो सबै सङ्घसंस्थाले आदर्शकै रूपमा अनुसरण गर्नुपर्ने सुन्दर र र्सार्थक कार्य हो । तीनजना कन्याको उपकार हुनुको अर्थ तिनका परिवारलाई सहयोग हुनु पनि हो । त्यसबाट भविष्यमा ती तीन कन्यामा पर्ने सामाजिक प्रभावको परिणामप्रति पनि ठूलो आशावादी हुन सकिन्छ । यस्तो र्सार्थक परम्परा अन्य सङ्घसंस्थाहरूले पनि जानी राख्न सके प्रत्येक सामाजिक कार्यद्वारा गरीब र अनाथ बाल बालिकाहरूको उपकार क्रमैसित हुँदै जाने थियो । त्यसैले सञ्चारग्राममा कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ढलोटका ६-६ फुटे भव्य मूर्तिहरू एकसाथ स्थापित गरेर त्रिमूर्ति निकेतनका नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई र घटराज भट्टराईले गरेको होस्टेमा हैँसे गर्ने सबै दानवीर, मनवीरहरू धन्य भएका छन् ।

यति धेरै उपलब्धिहरूको कारक त्रिमूर्ति निकेतनद्वारा प्रतिष्ठापित त्रिमूर्तिस्थल राष्ट्रकवि माधव घिमिरेले भनेजस्तै त्रिमूर्ति निकेतन नेपालीहरूको निम्ति तीर्थस्थल नै हो । यस खर्कमा प्रवेश गर्नु साहित्यको र्स्वर्गमा प्रवेश गर्नुसरह हुनेछ भन्ने राष्ट्रकविको भनाइ प्रत्येकको प्रत्यक्ष अनुभूतिमा आउने विश्वास गर्न सकिन्छ ।

मधुपर्क, २०६१ मङ्सीर


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies