Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

अमरगाथा : श्यामदास वैष्णव


      पशुपतिक्षेत्रमा त्रिमूर्तिको स्थापना हुनु ऐतिहासिक कार्य हो । तत्परता नइ अर्थात् नरेन्द्र र इन्दिराको मान्नैपर्छ । यस्तो तत्परता देखाउने व्यक्ति नेपाली साहित्य तथा संस्कृतिको विकासको निम्ति आवश्यक पनि छ  । अक्सर नेपाली लेखक कवि वा कलासेवी नै पनि आफूलाई ठूलो ठानेर अल्छी बनी बसेका हुन्छौँ । त्यस्तालाई जगाउन र चिनाउन कोही अग्रसर त  हुनैपर्‍यो । त्यस अभावको पूर्ति नइबाट भएको हामी पाउँदछौँ ।

      हुन त कार्य गर्दा बाधा,अवरोध खडा गर्ने र अपयश थोपर्नेहरू पनि हुँदा रहेछन् संसारमा । त्यो तिनको उल्टो प्रक्रिया हो - आफु चर्चित हुन खोज्ने । जहाँ पनि कसैले कुनै रूप दर्शायो कि त्यसको छाया बनेर खडा हुने प्राणी पनि हुँदा रहेछन् । गौतम बुद्घकै पनि  देवदत्त विरोधी वनेका थिए । हाँसशिकारको कथाले यही देखाउँछ । भनिन्छ - पछिसम्म पनि विरोधी नै बनिरहे   देवदत्त । त्यो प्रवृत्तिकै कुरो हो । तर बुद्घ, बुद्घ नै बने र देवदत्त देवदत्तै रहे इतिहासमा । इतिहास कहिल्यै निष्फल हुँदैन भन्ने प्रमाण पनि त्यही हो ।

      यसै प्रसङ्गमा - श्री बालकृष्ण समज्यूले भन्नुभएको एक वाक्य यहाँ संम्झिन्छ । उहाँले एकदिन खिन्न भएर भन्नुभएको थियो - "यहाँ कसैलाई केही पीर छ त कसैले केही गरिहाल्छ कि भन्ने पीरै रहेछ ।" यही भनाइ उद्घृत गरेर मैले "पीरैपीर" भन्ने कविता प्रकाशित गराएथेँ । हो, पीर भन्ने चीज विचित्र हुन्छ । त्रिमूर्तिको निर्माण भएपछि त्यसको डाहाले कोहीकोही मान्छे पीरैपीरमा रन्थनिएका पनि देखिए ।

      जहाँसम्म नेपाली साहित्य सङ्गीत कलाबारेको कुरा छ । त्यसको आधार यहाँको माटो नै देखिन्छ । हामी जुन बौद्घकि उद्गार भन्दछौँ, त्यसको मूल खोज्दा प्रकृति नै देखिन्छ । त्यसैले त वेद अपौरुषेय भनिन्छ । लोकगायन पनि अपौरुषेय नै देखिन्छ । प्रकृतिले उत्प्रेरित गर्दा सचेत मनुष्यले प्रेरणाको प्रतिकारमा उद्गार पोख्दछ । फरक ऋषिहरू र गोसेवी एवं घाँसेहरू नै देखिन्छन् यसमा । हुन त कसैले संस्कृतवाङ्मयको, कसैले अङ्ग्रेजीको र कसैले फ्रेन्च, रूसी, जापानी कृतिको अनुसरण गरी नेपालीमा ग्रन्थ निकालेका छन् तर मौलिकताको प्रस्फूरण भने अचलहरूको भावोद्गारमै साकार हुन जाने देखिन्छ । यसै गरी सङ्गीत र संस्कृतिमा पनि स्थानीय संस्कारले नै मौलिकता दर्शाएको पाइन्छ । नेपालमा दर्शिएका कृति वा संस्कृतिमा कृत्रिमता र सरसता दुई धारा पाइन्छन् । तर सरलता, सहजता र मार्मिकता नै यहा“को प्राण हो भनी व्यवहारले प्रमाणित गरेको देख्न सक्छौँ हामी । जटिलता र कृत्रिमता यहाँको गुण हैन, त्यो आयातित विचार हो । यसै हुनाले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा आफ्नै मौलिक आधारमा पाठ्यग्रन्थ तयार पार्न खोजिएको थियो । त्यहाँ पनि विघ्नकारी उत्पन्न भई कार्य संपन्न गर्न दिइएन । यो देखेर एक विद्वान्ले त विघ्नकारीकै समक्ष - "जय बोलो बेइमानकी" समेत भने । तर पनि केही न केही ग्रन्थ त प्रकाशित भइ नै छोडयो । आखिर सत्यकै जय हुँदो रहेछ ! त्रिमूर्तिस्थापनाको गाथा पनि यस्तै देखियो । अहिले नेपालमा

नकारात्मक र सकारात्मक तत्त्वबीच द्वन्द्व छ । अनास्थावादीहरू नेपालको अस्तित्व समाप्त पारी पर्राईको आश्रयमा सुसम्पन्न हुने सपना देख्छन् । तर आस्थावादीहरू यो कुरा मान्न तयार   छैनन् । ती आफ्ना गुणगौरव प्रतिष्ठापित गर्न चाहन्छन् र संसारसमक्ष पश्येम हिमवन्तो महि त्वा  प्रतिपादित गर्न चाहन्छन् भन्ने देखिइरहेछ । यस्तो स्थितिमा अल्झो बनेर विकृत विचार पोख्नेहरू देखिनु अनौठो कुरा हैन । ती गरलवमन गरिरहुन्, ध्वंसलाई सघाइरहुन् । तर आस्थावादीहरू भने यसलाई किञ्चित् नमानी अघि बढिरहने नै छन् भन्न सकिन्छ । आस्थावादीहरूको सग्लो रूप  हामीमाझ त्रिमूर्तिका पूर्ण कदका प्रतिमाहरू नेपालको एक महत्त्वपूर्ण सडकअघि बोल्लान् झैँ गरी उभिएका छन् ।

      देशमा अहिले  आस्थाको अकाल भने देखिँदैन । यहाँका सहज स्वभावका पराक्रमीहरूले जहिले पनि - राष्ट्राध्यक्षलाई आस्थाको केन्द्र मानी राष्ट्रको हितको लागि सत्य न्याय प्रतिष्ठापित गरेको पाइन्छ । यही अटल निष्ठाले गर्दा त हिन्दुस्थान आदि देश पराधीन हुँदा पनि नेपाल स्वतन्त्र रहन सक्यो । सोचविचार गर्दा यस्तो बोध हुन्छ - नेपाल स्वतन्त्र

नरहेको भए वैदिक संस्कृति नै पनि बच्थ्यो वा बच्ने थिएन । कुराको मूल गाँठी यही  हो र त्रिमूर्तिको गाथा पनि यसैमा टिकेको पाउन सकिन्छ । वास्तविक तथ्य त आस्था र अनास्थाकै उदाहरण मान्नुपर्छ । धर्मकै कुरा गर्ने हो भने पनि नारीलाई दास बनाउने, विधवा गराउने, पोल्ने, कुँजो गराउने धर्म यहाँको धर्म हैन । नेपाल धार्मिक स्वतन्त्रताको देश हो र पशुपतिको क्षेत्र हिमवत्खण्ड हो  । जुझाउने, बझाउने, हियाउने र सके तर्साउने, नसके मिजास गरेर पनि आफ्नो स्वार्थ टिकाउनेहरू यहाँका हैनन् । यहाँको धर्म हो सहज धर्म । सके आफुले केही रचनात्मक कार्य गरेर देखाउने र नसके अर्काको गुणलाई सह्राउने गर्नुपर्दछ देशप्रेमी हुँ भन्नेहरूले । अन्यथा निन्दा चर्चा गर्ने विभेदवादी नीतिलाई सकारात्मकता मान्न सकिंदैन । नइको सार्थक निर्माणको विपक्षमा लाग्ने होइन उसले गरेको भन्दा राम्रो काम गर्न सक्नुपर्छ ।

नेपाली भाषा साहित्यप्रति श्रद्घा राख्नेले मात्र होइन आम नेपालीले नै त्रिमूर्तिको प्रतिष्ठापनलाई नेपाली धरतीको सकारात्मक नमूना मान्नैपर्छ । सकिन्छ भने अरुबाट पनि यस्तो प्रेरक कार्य हुनु राम्रो हो । गुण सबैको अरु विभूति पनि रहुन् । त्यहाँ बराबर साहित्यिक मेला पनि लागोस् र नियमित रूपमा साहित्य, सङ्गीत कलाका क्रियाकलाप बराबर हुने स्वीकार्ने दुर्गुगण छ भने  आफैलाई पनि नकार्ने बानी हाम्रो हुनु श्रेयस्कर होला । हाम्रो सोचाइ छ त्रिमूर्तिस्थल अझ विशिष्ट थलो बनोस्  । त्यहाँ गरुन्  । कुरा मात्र गर्ने हो भने कुरै मात्र हुन जान्छ, कुरालाई काममा परिणत गर्न सक्ने व्यक्ति नै धन्यवादको पात्र हुन्छ भन्ने म ठान्दछु । आशा छ - अरुबाट पनि सकारात्मकताको सह्रनी हुने नै छ । किनभने अन्धकारले विनाश र उज्यालोले प्रकाश र्छछ भन्ने कुरा स्वतः सिद्घै छ । सकिन्छ भने अझै अरु पनि तत्पर होऔँ यस्ता काममा र गाडौँ यशको झन्डा पछिकालाई प्रेरणा दिने गरी । रुद्रराज पाण्डे, बाबुराम आचार्य, पारसमणि, सिद्घचिरण, धरणीधर, गोपालप्रसाद, गोपाल पाण्डे आदि र संस्कृतिक्षेत्रमा ख्यातिप्राप्त  एवं सङ्गीतका यशस्वीहरूको  मूर्ति पनि त्यहाँ प्रतिष्ठापित गरिए  त्यो थलो अझ  महत्त्वपूर्ण बन्न सक्छ । सुरिनेहरूको लागि रोकटोक कतै हुनेछैन । तर जसले सुरिएर काम गरे तिनलाई श्रेय नदिऊँ भन्दा पनि सकिँदैन । धन्य हुन्छन् काम र कामका कारणहरू नै । ती अमर कारणहरूको एउटा प्रतिविम्ब त्रिमूर्ति निकेतन हो । निश्चय नै त्रिमूर्तिको प्रतिमा राष्ट्रकै एक ऐतिहासिक र साहसिक कार्यको नमूनै बन्न गएको छ । भविष्यका अवतारहरूले यसबाट प्रेरणा हासिल गर्ने नै छन् । यस त्रिमूर्तिस्थापनाको परिकल्पनाकार नइ प्रकाशनदेखि घटराज भट्टराई, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई नेपाली धरामा सदैव जीवित रहिरहने प्रसङ्ग कसैले मेटेर मेटिन सक्दैन ।

साप्ताहिक जनसत्ता, २०६२ जेठ २१ गते शनिवार


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies