जिउँदो उदाहरण : वसन्तकुमार चौधरी
कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा यी तीन साहित्यका महारथीहरू संवत् २००९ मा 'त्रिमूर्ति'मा दरिए । त्यतिवेला यी तीन विभूतिहरू राजधानीबाहिर इलाम पुगेका थिए । उनीहरू त्यहाँबाट दार्जीलिङ पुगे र दार्जीलिङबाट फर्केर काठमाडौँ आएपछि उनीहरूलाई त्रिमूर्ति भन्न थालियो । आधुनिक नेपाली भाषा साहित्यका यी मूर्धन्य व्यक्तित्वहरू त्यसपछि सधैँ एउटै तराजुमा जोखिएर भाषा साहित्यको सेवामा जुटे । यति हुँदाहुँदै पनि नेपालीवाङ्मयका तीन अलग धारामा उनीहरू समाहित हुन पुगे । तर त्रिमूर्ति घोषित भएको ६२ वर्षछि मात्र यिनीहरूका मूर्ति प्रतिष्ठापित भए । नेपाली साहित्यका र्सजक र यसका पाठकहरूको लागि यसभन्दा बढी आह्लादमय, सुखानुभूतिपूर्ण र अविस्मरणीय घटना अरु के हुन सक्छ र !
म सम्झन्छु- कविशिरोमणिले त्यसवेला नै आजको वर्तमानलाई देखेका थिए । उनी दूरदर्शी थिए, भविष्यद्रष्टा थिए । त्यसैले यसैवेला लेखे-
म खाउँ मै लाऊँ सुखसयल वा मोज म गरूँ
म बाँचूँ मै नाचूँ अरु सब मरुन् दुर्बलहरू
भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ।
नाट्यसम्राट् बालकृष्ण सम परम राष्ट्रवादी थिए । उनी राष्ट्रियताप्रति सारै हुरुक्क हुन्थे । उनका कृतिहरूबाट थाहा पाइन्छ- उनको राष्ट्रियताको महत्त्व शिखरमा पुगेर अभिव्यक्त भयो । त्यसैले उनको कलमबाट "देशभक्ति त मर्दैन चुत्थै देश भए पनि" जस्तो देशभक्तिपूर्ण काव्यपङ्क्तिको रचना भयो ।
महाकवि देवकोटाको काव्यसृजनाको त के कुरा ! उनी कविहरूका पनि कवि महाकवि थिए । देवकोटा नेपालीकविताका मानक गर्व थिए ।
फर्क फर्क हे जाऊ समाऊ मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको चहराइरहेको घाउ ।
मानिसको हृदयभित्रै ईश्वर देख्ने देवकोटाको यो कविता सम्भवतः मानवताको पक्षमा लेखिएको संसारकै उम्दा र उत्कृष्ट कविता हो ।
यी तीन महान् पुरुषको म किन चर्चा गरिरहेछु - म साहित्यकार होइन । कहिलेकाहीँ कलम चलाउन रुचि राख्छु; यत्ति हो । तर मैले त्रिमूर्तिको सृजनात्मक अध्ययन गरेको थिएँ । यस आधारमा मैले धेरै वर्षघि पढेका यी कवितापङ्क्तिहरू आज स्मरण गर्न जमर्को गरेको हुँ । यी श्रद्धाका पात्रहरूको सानो अभिलेख पनि गह्रुङ्गो हुन्छ; त्यसमाथि नेपालीसाहित्याकाशमा त्रिमूर्ति निकेतनको स्थापना त अभूतपूर्व देन नै हो । त्रिमूर्तिको पूर्णकद सालिकको निर्माण गरेर त्रिमूर्ति निकेतन धन्यवादयोग्य पात्र भएको छ ।
नेपालीवाङ्मयको क्षेत्रमा त्रिमूर्ति निकेतनको जुन उच्च स्थान छ, यसको निर्माणमा लागिपर्ने त्रिमूर्ति निकेतन र यसका प्राविधिक कलाकारहरूको पनि त्यत्तिकै योगदान इतिहासमा अभिलेखबद्ध रहनेछ । त्रिमूर्ति निर्माणमा जुटेकामध्ये मूर्तिकार बालकृष्ण तुलाधर, मूर्तिपादपीठ निर्माता इन्जिनियर तेम्बा शेर्पा, परियोजनाकार नइ प्रकाशन, पुस्तकालय निर्माण र संरक्षण गर्ने सलोमी तिमोथी लेप्चा, उद्यानको परिकल्पना र संरक्षण गर्ने श्रीमती सिन्धुराज्यलक्ष्मी राणा आदि व्यक्ति र संस्था त्रिमूर्तिसँग गाँसिएर भावी इतिहास लेखनका सामग्री हुन पुगेका छन् । यीमध्ये पनि अहोरात्र यसलाई सम्पन्न गर्ने पनि त्रिमूर्ति साहित्यकार नै हुन् अर्थात् प्राध्यापक घटराज भट्टराई, जीवनीकार नरेन्द्रराज प्रसाई र आख्यानकार इन्दिरा प्रसाईको योगदान यस पवित्र कार्यको निम्ति उल्लेखनीय छ ।
मानिसले चिताएपछि जे पनि गर्न सक्छ भन्ने कुराको उदाहरण यिनीहरू(घनइ)ले प्रस्तुत गरेका छन् । यिनीहरूकै दिनरातको प्रयासले यी त्रिमूर्ति यसरी एकै ठाउँमा प्रतिष्ठापित हुनु सम्भव भयो । यस कार्यले अघिल्लो र वर्तमान पुस्तालाई त एउटा गौरवबोध गराएको छ नै, साथै आगामी पुस्तालाई पनि साहित्य शिरोमणि, नाट्यसम्राट् तथा महाकवि र यिनीहरूबारेमा एकै स्थलबाट सम्पूर्ण अनुसन्धान गर्न सम्भव पारेको छ ।
समष्टिमा भन्दा सरस्वतीका यी तीन वरद पुत्रहरूका सालिकको स्थापना हुनु सजिलो कुरो थिएन । यसमा लगानी गरिदिने दाताहरूदेखि माथि उल्लिखित सबै पक्ष र व्यक्तिहरूको योगदान यस कार्यमा अभिलेखबद्ध भएको छ । यो स्तुत्य, प्रशंसनीय र अनुकरणीय पक्षको जिउँदो उदाहरण पनि हो । यसको अनुसरण गरी आगामी दिनहरूमा साहित्य, कला, संस्कृति आदि सिर्जनाक्षेत्रका अन्यान्य र्सजकहरूको पनि यसरी नै मानमनितोपूर्वक सालिक स्थापित हुनेछ भन्नेमा म विश्वस्त छु ।
मानिसले आँटयो भने असम्भव केही छैन भन्ने सत्यको जिउँदो उदाहरण हो यो त्रिमूर्ति निकेतन । मूर्तिनिर्माणको क्रममा यी तीन स्रष्टाहरू भट्टराई र प्रसाईदम्पतीले मूर्तिनिर्माण गर्ने कार्यमा कति दौडधूप गरेका छन्, कति ठाउँमा निराश भएका छन्, त्यसको प्रत्यक्ष अनुभव मलाई छ । यस सिलसिलामा यिनीहरूले कति ठाउँमा हात जोडेर अनुनयविनय गरेका छन्, कति ठाउँमा हतोत्साह भएर पनि फर्केका छन् ;त्यसको साक्षी पनि छु म । यिनीहरूले यस्तो सार्थक काममा कहिल्यै हरेस खाएनन् । सार्थक काम गर्नेहरूलाई पनि हतोत्साह पार्नेहरूले वास्तवमा साहित्य, कला र संस्कृतिमा लाग्नेहरूलाई ठूलो पीडा दिएको मैले अनुभव गरेको छु । यी प्रसङ्गहरू कालान्तरमा इतिहासको गर्भमा विलीन भई विस्मृत हुन सक्लान् तर हामीले सक्षम यस्ता योद्धाहरूको स्मरण गरिरहनुपर्छ । यिनको सेवा र लगानीलाई, प्रसङ्गलाई वचनले दोहोर्याइरहनु पर्छ; कर्मले पुनर्वृत्ति र मनले ग्रहण गरिरहनुपर्छ । त्रिमूर्तिको स्थापना त सुरुआत मात्र हो भन्ने ठान्नुपर्छ किनभने सिर्जनाक्षेत्रका यस्ता अनेक त्रिमूर्तिहरूलाई अमर बनाउन एवम् उनीहरूको कृतित्वको अध्ययन गरिरहन यस्ता अनेक त्रिमूर्ति र थुप्रै निकेतनहरू हामीले अझ पनि निर्माण गरिरहनुपर्छ । त्यसैले यो सुरुआत मात्र हो; यो एउटा पवित्र कामको श्रीगणेश मात्र हो । त्रिमूर्ति निकेतनलाई उदाहरण मानी यसको अनुकरण गरेर हामीले आगामी दिनहरूमा यस्ता अन्य गरिमामय पुण्यकार्यहरू गरिरहनुपर्दछ ।
जनधारणा साप्ताहिक, २०६१ चैत ४
|