Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

साहित्यिक तीर्थस्थल: राजन नेपाल



आफ्नो कालखण्डका उत्तिकै सशक्त स्रष्टा; एउटाको सम्झना गरिरहँदा अर्को छुट्दाको खल्लोपन वा सँगै राखेर स्तुति गर्न नपाउँदाको पीडा । नेपालीसाहित्यका अनुरागी, साधक वा सामान्य पाठक जोसुकैको मनमा पनि एउटै तुलोमा राखेर हेर्ने तीव्र इच्छा । एउटा त्यस्तो सङ्गमस्थल जसमा गरिने स्तुतिले भेदभाव वा कोही छुटेको अनुभव दिँदैन । त्यस्तो पवित्र त्रिवेणी त्रिमूर्ति निकेतनको निर्माण सम्पन्न भएको छ ।

स्थानछनोट पनि आफैमा महत्त्वपूर्ण ठहरेको छ । सञ्चारसम्बन्धी गतिविधि हुने ग्राममा त्यस्ता स्रष्टालाई स्थान दिइएको छ जसले आफ्नो भौतिक उपस्थिति रहँदा भाषा, साहित्य र कलाको सेवालाई कर्तव्यको रूपमा स्वीकार गरेका र अरुलाई पनि सचेत बनाउन कृतिमार्फत अभियान निरन्तर गरिरहेका छन् र अझै अनन्त कालसम्म गरि नै रहनेछन् भन्ने कुरामा कुनै सन्देह छैन ।

कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा त्रिमूर्ति निकेतनका भगवान् हुन् । आस्था र विश्वासको आधारमा हामीले जीवनमा धेरै मूर्तिहरूको पूजा गरेका छौँ र गर्र्छौं पनि । मानवीय संवेदनमार् ईश्वर देख्ने र पाठकहरूको लागि चेतनाका थुप्रै ढोका खुलाउन सम्पूर्ण जीवन खर्चेका यी त्रिमूर्तिहरू सही अर्थमा भगवान् नै हुन् ।

त्रिमूर्तिस्थापनाका परिकल्पनाकारहरूमध्ये एक एवं त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाई सुरुमा यो काम आँट्न, गर्न र त्यसैमा लागिपर्न आफुलाई महाभारत नै भएको   बताउनुहुन्छ ।

नेपालीसाहित्यको संसारमा अघिल्लो पुस्ताका सुप्रख्यात राष्ट्रिय विभूतिका त्रिमूर्तिको निर्माण गर्नु राष्ट्रिय दायित्व भएकोले आफुले यो कार्य गरेको कथन प्रसाईको छ ।

त्रिमूर्तिका स्रष्टृत्रयलाई राष्ट्रिय विभूतिका रूपमा घोषणा गरिनुपर्ने माग प्रसाईको छ । त्रिमूर्तिस्थल एउटा सुन्दर तीर्थथस्थल बनेको उल्लेख गर्दै प्रसाईले थप्नुभयो- "यो सबैको साझा सम्पत्ति हो, यसको संरक्षणको लागि सबै क्षेत्र र तप्काका मानिसले सहयोग गर्नुपर्दछ ।" त्रिमूर्तिलाई सार्वजनिक सम्पत्तिका रूपमा ग्रहण गर्न अनुरोध गर्दै प्रसाईले भन्नुभयो- "यो मुलुककै ध्यान जानुपर्ने क्षेत्र हो ।"

साहित्यिक स्रष्टाहरू आफ्ना रचनामार्फत जति सुखदुःखका कुरा गर्दछन्, त्यसभन्दा बढी दुःख वास्तविक जीवनमा भोग्दछन् । बाँचुन्जेल अपहेलना वा बेवास्ता गर्ने परिपाटीको शिकार सबैभन्दा बढी साहित्यिक स्रष्टा नै हुन्छन् । मरेपछि हुने सम्मान गर्ने र सम्झने चलन हाम्रो परम्परा हो । नेपाली साहित्यिक स्रष्टाहरूमा र्सूयविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा) र इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वरवल्लभ(आयमेली)का त्रिमूर्ति स्थापित भइसकेका छन् ।

पछिल्लोपटकको यस प्रयासको सफलताले एकपटक यस्तो त्रिवेणीको मेल गराएको छ जुन त्रिवेणीमा पुग्ने जोसुकै पवित्र हुन्छ । स्रष्टाको कृति र कृतिको आचरणबाट आफुलाई तिर्खार्नेहरूले अब अरु मूर्तितिर पूजा गर्नुको तुक नरहला । धार्मिक तीर्थस्थलको महत्त्वमाथि प्रश्नचिह्न खडा गर्न यसो भनिएको होइन । मानवीय भावनालाई सचेत मनःस्थितिको खुराक मान्नेहरूको पूजाले जोसुकैलाई आत्मसन्तुष्टि दिन सक्दछ । राष्ट्रकवि माधवप्रसाद घिमिरे त्रिमूर्तिका तीनै स्रष्टा नेपालीसाहित्यका युगान्तकारी स्रष्टा भएको टिप्पणी गर्नुहुन्छ । "त्रिमूर्ति निकेतन नेपालीहरूको निम्ति तीर्थस्थल हो" राष्ट्रकवि घिमिरेले भन्नुभयो ।

निकेतनका अध्यक्ष प्राज्ञ घटराज भट्टराई 'प्रतिभाकै रूपमा पनि भौतिक दर्शन गरी बौद्धिक तिर्खा मेट्न सकिने स्थान त्रिमूर्ति हुने' बताउनुहुन्छ ।

नेपाली साहित्यका यी तीनै स्रष्टा आआफ्नै इतिहासमा जीवित छन् । कविशिरोमणि लेखनाथ पौडयालले भाषा र शैलीलाई परिष्कार दिए । कवितालाई सौर्न्दर्यको छटा, सांस्कृतिक चेत र पूर्वीय जीवनदर्शनको मार्गमा डोर्‍याउन पौडयाल आफ्नो कालखण्डमा सफल भएका थिए । अहिले पनि उनको कृतिको तौलमा कुनै कमी आएको आभास पाइँदैन ।

महाकवि देवकोटाले नेपालीकवितामा पश्चिमी शैलीको स्वच्छन्दतावादलाई भित्राएका थिए भने नाटयसम्राट् बालकृष्ण सम स्वयं परिष्कृत, कलात्मक र चिन्तनशील थिए ।

निकेतनका उपाध्यक्ष इन्दिरा प्रसाई त्रिमूर्तिको स्थापना कीर्तिमानको अभ्यास भएको टिप्पणी गर्नुहुन्छ । प्रसाईको कथन छ- "यो चराचर सृष्टिमा भएका असङ्ख्य जीवहरूमध्ये मानव मात्र विवेकी र चेतनधारी भएकोले त्रिमूर्तिको स्थापना गरिएको हो ।"

त्रिमूर्तिस्थापनाको लागि संस्कृति मन्त्रालय, सीताराम प्रज्ञाप्रतिष्ठान, एकता प्रकाशन, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान, भूपाल प्रज्ञापरिषद्, देरुनिख र्सार्वजनिक हित गुठी र बालकृष्ण सम फाउन्डेशनबाट आर्थिक सहयोग उपलब्ध भएको थियो !

निकेतनको स्थापनालाई सङ्गठनात्मक गतिविधिको सफलताको रूपमा लिनुहुन्छ उपाध्यक्ष इन्दिरा प्रसाई । यो निकेतन समाज, राष्ट्र र विश्वकै एउटा महत्त्वपूर्ण कीर्तिस्तम्भ भएको दाबी उपाध्यक्ष प्रसाईको छ । प्रसाईका अनुसार २००९ सालमा उद्घोषित त्रिमूर्ति आधा शताब्दीपछि मात्र साकार स्वरूपमा उभिन सकेको हो ।

विश्वको अशान्तिमय वातावरणमा कानले रुचिसाथ सुन्न पाउने, आँखाले आनन्दले हेर्न पाउने मनले रसाएर उत्साहित हुन पाउने स्थलको रूपमा त्रिमूर्ति निकेतनलाई लिनुपर्ने सुझाव प्रसाईको छ । कुनै पनि प्रयास आफैमा पूर्ण कदम भने अवश्य होइन । साहित्यिक स्रष्टाहरूको छुट्टाछुट्टै विश्लेषण गर्ने यो पाटो हुन सक्दछ । तर सम्मान र सम्झना गर्दा तलमाथि गर्न पाइँदैन । कसले कति बढी गरेको छ भनेर जोख्ने तराजुले स्रष्टाको दार्शनिक मूल्यको किटान गर्न सक्दैन । विचार र दर्शन समयको माग, मूल्य र आवश्यकतालाई दृष्टिगत गरेर नै अभिव्यक्त भएका हुन्छन् । समयको कालखण्डमा कसैले उठाएको आवाज सदाबहार नभए पनि दर्शन ओझेलमा परेको हुँदैन ।

त्रिमूर्ति निकेतनका तीनै स्रष्टालाई समयको छालले अहिलेसम्म ओझेलमा पारेको छैन । विचार, भाव र दर्शनका दृष्टिले अत्यन्तै गहकिला ठानिएका त्रिमूर्तिहरूको सङ्गमस्थललाई उनीहरूका पुजारीहरूले मन्दिरकै रूपमा लिने कुरालाई नकार्न सकिँदैन ।

राजधानी दैनिक, २०६१ भदौ ११ गते शुक्रवार


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies