Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

आस्थाको नमूना : युवराज नयाँघरे


समयको एक किनारा यस्तो छ: सम्मान गर्ने हातहरू जमजमाइरहेका छन् ।

ती नै हातहरूले नेपालीवाङ्मयका महान् स्रष्टाहरू लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटालाई एउटै थलोमा प्रतिष्ठापित गरेर नेपाली संस्कृतिको, नेपाली सभ्यताको र नेपालीभाषाको उज्यालो भविष्यको निम्ति फेरि एउटा उल्लेख्य कर्म भएको छ । काम गर्ने ती जाँगरिला र दह्रा हात हुन्- नरेन्द्रराज प्रसाई ।

नइ प्रकाशनको विशेष खटाउ र लगावले नेपालीवाङ्मयका ती विशिष्ट साधकहरूका पूर्ण कदका र साह्रै मोहक मूर्तिहरू सञ्चारग्रामनिकट प्रतिष्ठापित भए । ज्यादै कलात्मक र जीवन्त मुखाकृतिका ती सालिकहरू एकातिर एउटै थलोमा नेपाली साहित्यका तीन ताराको भावनात्मक उभ्याइका रूपमा पाइन्छन् भने अर्कातिर नाटक, निबन्ध र कविताको त्रिकोणात्मक यात्राको गतिशील चिनारीका रूपमा यी त्रिमूर्तिको उपस्थितिलाई लिन सकिन्छ । नेपाली काव्यधाराका विशिष्ट साधक लेखनाथ पौड्याल, नाटकका महत्तम प्रतिभा बालकृष्ण सम र निबन्ध एवं महाकाव्य फाँटका अनन्यतम र्सजक लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका गौरवशाली विभूति हुन् । यी तीन प्रतिभालाई एकै थलोमा हेर्न पाउनु, देख्न पाउनु र नियाल्न पाउनु निश्चय नै विशेष उपलब्धिको विषय हो ।

श्रद्धावश कतिपय ठाउँमा राखिएका लेखक साधकहरूका मूर्तिमा भावभङ्गिमाको अभाव, चरित्रचित्रण नहुनु, पोशाक नमिल्नु, आँखाओठ जस्ता अङ्ग बेमेल हुनु आदि अनेक कारणले गर्दा स्रष्टृत्वको सङ्केत भेट्टिँदैन ।

त्रिमूर्तिस्थलमा राखिएका यी स्मारकहरूले एकातिर कलाकारिताको उत्कट छवि त दिएका छन् नै अर्कातिर स्रष्टाहरूका प्रतिमूर्तिमा जुन जीवन्त मिहीन चित्रण देखिनुपर्ने हो त्यसको उपस्थिति अनुभूत हुन्छ नै ।

त्रिमूर्तिको प्रतिष्ठापनले गर्दा एउटै ठाउँमा तीनै महान् साहित्यकारहरूको विषयमा चिन्तन र अध्ययन गर्न पाइने भएको छ ।

कलात्मकता र मूल्यबोधको हिसाबले यी सालिकहरू झन् गरिमामय लाग्छन् । त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाई भन्छन्- "नेपालीवाङ्मयका यी शिखर पुरुषहरूलाई एउटै थलोमा राखेर आउँदो पुस्तालाई नेपालीसाहित्यको विशिष्ट रूप देखाउनु हाम्रो लक्ष्य हो ।"

यी मूर्तिहरू आफैमा एउटा रचनात्मक कामगराइको खास उदाहरण हो । अब लेखनाथ, सम र देवकोटाबारे बुझन त्यसै परिसरमा रहेको पुस्तकालयले ठूलो सघाउ पुर्‍याउने भएको छ ।

त्रिमूर्तिहरूको प्रतिष्ठापनसमारोहमा राष्ट्रकवि माधव घिमिरे, कमल दीक्षति, घटराज भट्टराई, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईले आआफ्ना महत्त्वपूर्ण विचारहरू राख्नुभएको थियो ।

सरकारले सञ्चारग्रामपरिसरमा यी मूर्तिहरू राख्न दिएर सञ्चार र साहित्यबीचको अनन्यतम भावनालाई नजिक पुर्‍याएको त छ नै, पत्रकारितालाई हतारको साहित्य मान्ने पुरानो धारणालाई पनि अपेक्षाकृत रूपमा हटाएकै देखियो ।

यस सर्त्कर्मप्रति कमल दीक्षतिको टिप्पणी छ- "अरुको मुख ताक्ने बानी कम गराउन मद्दत पुग्ने देख्छु म ।"

भानुको गतिलो सालिक हेर्न सिक्किम र दार्जीलिङ जानुपर्ने हैरानी अब घटेको छ । भाषासाहित्यमा सिङ्गो जीवन अर्पेका साधकहरूले पाउने सद्भाव र गौरवानुभूतिको एउटा पक्ष पनि हो- यो मूर्तिप्रतिष्ठापन ।

त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईको अनुभव थियो- "योगदानको सम्झना गर्न यस्ता कार्यहरू गर्नुपरेको हो । यस कार्यबाट अरु रचनात्मक र उल्लेख्य कामको लागि मैले पाठहरू सिकेँ  ।"

लेखेर र चर्चा गरेर नेपालीसाहित्यमा लागिरहने श्री प्रसाईले नेपालीवाङ्मयका यी महत्तम प्रतिभाहरूलाई मूर्तिमा स्थापित गरी वाङ्मयको महत्त्व, मूल्य र मानकतामाथि गौरवपूर्ण  कार्यहरू गरेको तथ्य निर्विवाद छ ।

समाजको र्सवपक्षीय ध्यानाकर्षा गराउन यी मूर्तिहरूले अघोषित कार्य गर्नेछन् । वाङ्मयका यी पूज्य प्रतिभाहरूको पूजाले नेपाली साहित्यमा रहेको प्रकाश अझ समुज्ज्वल हुने कुरामा कुनै विमति छैन ।

भोलिका दिनमा अरु उल्लेख्य प्रतिभा र साधकहरूको मूर्ति बन्ने र बनाउने वातावरण बनोस् । यति नै पूर्ण हो - यस्तो सङ्कीर्ण सोच नराखियोस् । एकपछि अर्को ज्योति बल्दै जाओस् । समाजले आदर्शको अर्को इँटा थपेको अनुभूति गरोस् । भाषा साहित्यको सभ्यतामा नयाँ ऊर्जा थपियोस्, गति आओस् र जोश बढोस् ।

अहिले सञ्चारग्रामको जमीन सहयोगमा लिएर नेपालीसाहित्यका महारथीहरूलाई हामीले प्रतिष्ठापित गर्नुपर्‍यो । भोलिका दिनमा हामीले वाङ्मय र कलासंस्कृतिका अन्य साधकहरूका सालिक पनि यसरी नै प्रतिष्ठापित गर्नुपर्ने स्थिति आउँछ । आज जसरी सम्बद्ध निकायले त्रिमूर्तिका सालिक राख्न जग्गा उपलब्ध गरायो त्यसरी नै आउने दिनहरूमा पनि दिन्छ नै भन्ने कुनै विश्वस्तता छैन ।

यो सम्भाव्य बाधा हटाउन समेत हामीले आजकै दिनमा एउटा महत्त्वपूर्ण सुझाव र योजना बनाएर सरकारमा प्रस्तुत गर्‍यौँ भने अरु मूर्तिहरू राख्न अप्ठयारो नपर्ला कि !

नइ प्रकाशनले विविध रचनात्मक कार्य र गतिविधिसाथ राष्ट्रको साहित्यसम्पदा मजबूत बनाउन खेलेको भूमिका निश्चय नै अर्थपूर्ण छ । असल कामको निम्ति कोही न कोही अगाडि र्सर्नैपर्छ । अन्यथा विसङ्गति र विकृतिबाट मुक्ति पाइँदैन, खराबी र अन्यौलले स्थान पाइरहन्छ ।

नेपालीसाहित्यका थुप्रै अर्थ र सर्न्दर्भमा नइ प्रकाशनको इतिहास गाँसिएको छ । महत्त्वपूर्ण ग्रन्थहरूको प्रकाशन र संयोजनमा यस संस्थाले आफ्नो चिनारी पस्केको तथ्य पनि त्यत्तिकै टड्कारो छ । नयाँ पुस्ताको सहयोगबाट अघिल्लो पुस्ताको अर्चना गर्नाले नै यस प्रकाशनको छायाछविलाई सामाजिक स्वीकृति प्राप्त भएको छ । त्यस्ता र्सवानुमोद्य कार्यमा त्रिमूर्तिको सालिकनिर्माण पनि एक हो । यसले एकातिर जीवित भाषाको रचनात्मक परिचय त दिएको छ नै, अर्कातिर नेपाली साहित्यको विगतको प्रतिष्ठालाई अझ जनमुखी र सामाजिकीकरण गरिरहेको अनुभूत हुन्छ । नइ प्रकाशनको संयोजन र कर्मठता निश्चय नै खँदिलो छ, गतिशील छ र ऊर्जाशील छ । यो जाँगरिलो कार्यको राम्रो उदाहरण समेत हो ।

त्रिमूर्तिको प्रतिष्ठापनले काठमाडौँ उपत्यकालाई नहेरी नहुने र अविस्मरणीय स्थल बनाउन सके कामको र्सार्थकतामा शङ्का हुँदैन । मूर्ति राख्ने काम जनताको हो भने त्यसको भरथेग राज्यबाट हुनुपर्छ । निश्चय नै एउटा महत्त्वपूर्ण कार्य हो- त्रिमूर्ति सालिकको निर्माण र स्थापना !

जनभावना साप्ताहिक, २०६१ भदौ १४ गते सोमवार


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies