कीर्तिस्तम्भ : यादव भट्टर्राई
समाजमा राम्रो काम गर्न चाहने हो भने कसैले पनि छेकबार लगाउन सक्तो रहेनछ भन्ने प्रमाण हालै मात्र सम्पन्न त्रिमूर्ति निकेतनको उद्घाटन र नेपालीसाहित्यका तीन महारथीहरू कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्ण कदका मूर्तिहरूको अनावरणले दिएको छ । नेपाली साहित्यको आधुनिक कालका यी व्यक्तित्वहरूले नेपाली साहित्यका विभिन्न विधामार्फत विशिष्टता प्राप्त गरेका छन् । कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका आआफ्ना विशिष्ट प्रतिभाका माध्यमबाट नेपालीसाहित्यको फाँटमा नयाँ आयाम थपिएको छ । छन्दका शिल्पी लेखनाथ पौड्याल, पूर्वीय तथा पाश्चात्य साहित्यको अध्ययनले खँदिलो व्यक्तित्वको निर्माण गर्न सफल बनेका बालकृष्ण सम तथा नेपाली साहित्यका शिखर व्यक्तित्व लक्ष्मीप्रसाद देवकोटा आआफ्नो कृतित्वका आधारमा अमर बनेका छन् । यी तीनैजना स्रष्टाहरू नेपालीसाहित्यको सिङ्गो युग हाँक्न सफल बनेका छन् । आधुनिक नेपालीसाहित्यको अध्ययन र अध्यापनमा यी तीन स्रष्टाको नाउँ छुटयो भने अपूर्ण मानिन्छ । सम्भवतः संवत् २००९ सालमै यी तीन स्रष्टाको 'त्रिमूर्ति' नामकरण भइसकेको थियो । साहित्यप्रति सरकारी चासो त्यति नरहनु वा साहित्यलाई अनुत्पादक क्षेत्रको रूपमा लिइनु नै विडम्बनापूर्ण कुरो हो । विदेशी मुलुकका ठूलाठूला राज्यक्रान्तिमा त्यहाँका साहित्यकारहरूले पुर्याएको साहित्यिक योगदानलाई विशेष महत्त्वसाथ हेरिन्छ । त्यसैअनुरूप उनीहरूलाई सम्मान पनि प्रदान गरिएको हुन्छ । तर हामीकहाँ भने साहित्य र साहित्यकारप्रति उपेक्षाभावले व्यवहार गरिन्छ । तैपनि स्रष्टाहरू निराश छैनन् । उनीहरू कलमको माध्यमबाट आफ्ना सिर्जनात्मक रचनालाई निरन्तर अघि बढाइरहेका छन् ।
नेपाली समाजमा अर्काको खुट्टा तान्ने प्रवृत्ति अत्यन्त मौलाएको पाइन्छ । तैपनि नैरन्तर लगनशीलता र सक्रियताको आधारमा स्रष्टाहरू आफ्नो सबल व्यक्तित्वको निर्माण गर्न सफल भएका छन् । नेपालीसाहित्यको उत्थानको निम्ति मरिमेट्ने व्यक्तित्वहरू पनि नेपाली भूमिमा नभएका होइनन् । नरेन्द्रराज प्रसाई यस्तै एउटा व्यक्तित्वको नाउँ हो । अरुलाई विश्वास नगर्ने र समाजहितको निम्ति आफुलाई अग्रसर गराउन नखोज्ने प्रवृत्ति भएकाहरू हामीकहाँ धेरै छन् । नइ प्रकाशन ती सबै गलत प्रवृत्ति भएकाहरूको निम्ति चुनौती बनेको छ । एउटा व्यक्तिको प्रयासबाट सुरु गरिएको बृहत् कार्य सम्पन्न हुँदासम्म अन्य केही व्यक्तित्वहरू यसै महान् कार्यमा आफुलाई पनि सहभागी गराउने अवसरको सदुपयोग गर्न चुकेनन् । हालै नइ प्रकाशनको सक्रियतामा काठमाडौँको तिलगङ्गास्थित सञ्चारग्राममा स्थापित नेपाली साहित्यका अग्रणी व्यक्तित्वहरूको पूर्ण कदको मूर्तिको निर्माणक्रममा एकता प्रकाशन, देरुनिख र्सार्वजनिक हित गुठी, भूपालमानसिंह कार्की प्रज्ञापरिषद्, साल्ट ट्रेडिङ कर्पोरेशन लि., सीताराम प्रज्ञाप्रतिष्ठानजस्ता निजी संस्थाहरूको भूमिका पनि अत्यन्त सह्रनीयोग्य रहेको छ ।
नेपाली साहित्यको श्रीवृद्धिमा लागिपरेको संस्था नइ प्रकाशनले पुरानो पुस्ताको कीर्तिस्तम्भ नयाँ पुस्तासामु प्रस्तुत गर्ने स्तुत्य कार्य गरेको छ । व्यक्तिगत प्रयासबाट रकमसङ्कलन गरी अलगअलग व्यक्ति र संस्थाको सक्रिय सहभागिता गराउन सक्नु आफैमा उपलब्धिपूर्ण मान्नु पर्दछ । प्रशस्त धनसम्पत्ति कमाएर बेग्लै जीवनशैली अँगाल्न खोज्नेहरूको निम्ति पनि नइ प्रकाशनको यस कार्यले छुट्टै महत्त्व राख्दछ । त्रिमूर्ति निकेतनको स्थापनाजस्तो ऐतिहासिक कार्यलाई पूर्णता दिने क्रममा माथि उक्त संस्थाका साथै संस्कृति मन्त्रालय, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान, बालकृष्ण सम फाउन्डेशनलगायतका संस्थाहरूको कार्यको सह्रनी गर्नैपर्दछ । मन, वचन र कर्मले नै मानिसलाई सफलतातर्फउन्मुख गराउँछ ।
समता शिक्षा निकेतन, जोरपाटी, काठमाडौँका ५ वर्षे त्रिकुमारीहरू रचना सुब्बा, सङ्गीता आचार्य र प्रमिला विश्वकर्माले अनावरण गरेको त्रिमूर्ति रहेको, त्रिमूर्ति निकेतनको त्रिमूर्ति पुस्तकालयमा पौड्याल, सम र देवकोटासँग सम्बद्ध पुस्तकहरू मात्र राखिनेछन् ।
काठमाडौँको पशुपतिक्षेत्रनजिक स्थापित सो स्थल साहित्यिक तीर्थस्थलको रूपमा विकसित हुने विश्वास लिइएको छ । व्यक्तिको प्रयासबाट निर्माण सम्पन्न भई र्सार्वजनिक संस्थाको रूप धारण गरेको यस निकेतनलाई सबैको सहयोग आवश्यक हुन्छ । सरकारले त्रिमूर्तिस्थललाई राजपत्रमा समेत प्रकाशित गरी त्रिमूर्ति निकेतनलाई अझै औपचारिकता प्रदान गरेको छ । त्यसैले नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई, घटराज भट्टराईजस्ता व्यक्तित्वहरूको व्यक्तिगत प्रयासबाट सम्भव बनेको यस साहित्यिक तीर्थस्थलको संरक्षण र त्रिमूर्तिको कृतित्वबारे अझ व्यापक रूपमा व्याख्या, विश्लेषण र चिन्तन गर्न सकियो भने त्यो नै अग्रजहरूप्रति साँचो सम्मान ठहर्नेछ ।
रोडम्याप, २०६१ भदौ १७ गते बिहीवार
|