यत्रो सम्मान ! : बबिता बस्नेत
गतहप्ता मेरी एक पाकिस्तानी मित्रका दाजुभाउजूलाई अन्तरराष्ट्रिय एयरपोर्टबाट लिएर फर्कंदै गर्दा विमानस्थलको परिसर पार गर्नासाथै उनीहरूको नजर सीधै अगाडि खडा भएका तीनवटा सालिकमा ठोक्किन पुग्यो । एक अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत मेरी साथीका दाजु शहीद बेगले ती सालिकलाई देखाउँदै सोधे; के यी यहाँका महान् नेताहरूका सालिक हुन् ? मैले भनेँ - 'होइन, यी हाम्रा महान् साहित्यकारका सालिक हुन् ।' मेरो जवाफ सुनेर उनी छक्कै परे र भने- 'ओहो कस्तो आर्श्चर्यपूर्ण। मैले सोधेँ 'किन र ? 'यहाँ साहित्यकारको यत्रो सम्मान् ? उनले सुखद आर्श्चर्य व्यक्त गरे । साहित्यमा विशेष रुचि भएका उनले त्यसपछि उर्दु साहित्यकारहरू फैज अहमद फैजदेखि भुसरा रहमान हुँदै शाहिरसम्मका कुरा गरे ।
उपन्यास र कथासङ्ग्रह गरी एकतीसओटा पुस्तक प्रकाशित गरिसकेकी भुसरा पन्जाब प्रान्तबाट सांसद समेत भइसकेकी व्यक्तित्व हुन् । अहिले उनी लाहोरबाट प्रकाशित हुने एउटा म्यागेजिनको सम्पादन गर्छिन् । हामी दुवैजना दक्षिण एसियाली सम्पादक मञ्चसित सम्बद्ध भएका हुँदा उनीसँग मेरो मित्रता बढेको हो । गाडीभित्र लामो समयसम्म भुसराको विषयमा कुरा गर्दा पनि शहीदको ध्यान भने ती सालिकहरूले नै तानिरहेका रहेछन् । सालिक बनेका ती साहित्यकारको नाम के हो - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लाजिम्पाट नपुगुन्जेल महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौडयाल र नाटयसम्राट् बालकृष्ण सम यी तीन महान् साहित्यकारको नाम लिँदै मैले छोटकरीमा उहाँहरूबारे बताएँ । 'म तिमीहरूको सरकारसँग प्रभावित भएँ ।' उनको वाक्य पूरा हुनासाथ मैले सोधे“- 'किन ? राज्यले साहित्यकारहरूको यसरी सम्मान गर्नु अत्यन्तै राम्रो कुरा भएको उनले बताए । तर ती साहित्यकारहरूका सालिक राज्यले नभई एउटा साहित्यिक संस्था र त्यो संस्था सञ्चालन गर्ने व्यक्तिहरूको पहलमा भएको बताएपछि लाजिम्पाटस्थित पाँचतारे होटल कम्पाउन्डमा उत्रँदै उनले यति मात्र भने- 'कति राम्रो गरेछन् तिनीहरूले ।
त्रिमूर्ति निकेतनले ती सालिकहरूको अनावरण गरेको औपचारिक समारोहमा आफु सहभागी हुँदा मैले एयरपोर्टबाट राजधानी भित्रने स्वदेशी वा विदेशी नागरिकहरूको ध्यान पहिलोपटकमै ती सालिकहरूले खिच्नेबारे सोचेकै थिइनँ । एयरपोर्टको सीधा अगाडि सञ्चारग्रामको अग्रभागमा झट्ट बोलुँला झैँ गरेर उभिएका कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका ती सालिक अहिले अन्तरराष्ट्रिय जगत्कै चासोको विषय भएका छन् ।
सालिक भन्ने कुरा विशेष व्यक्तित्वहरूको स्मरणमा राखिन्छ र सबैले स्मरण गर्न सकुन् भनेर सालिक प्रायः र्सार्वजनिक स्थलमा राख्ने गरिन्छ । विशेष गरी चौबाटो वा धेरैओटा बाटाको बीचमा सालिकहरू राख्ने गरिन्छ । त्रिमूर्ति निकेतनका संस्थापकहरू साहित्यकार नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई, घटराज भट्टराई आदिले पहिले के सोचले सञ्चारग्रामको अग्रभागमा यी सालिक राख्ने निर्णय गरे, थाहा छैन । अन्य स्थानमा जग्गा नपाएर त्यहाँ राखिएको हो भने यो सारा साहित्यिक क्षेत्रकै निम्ति सुखद चिट्ठा हो, र अन्तरराष्ट्रिय स्तरकै ध्यान त्यहाँ आकषिर्त हुन्छ भन्ने पूर्वसोचले नै राखिएको हो भने त्यो दूरदृष्टि हो । मुर्धन्य साहित्यकारहरूको सालिक त्यहाँ देख्दा लाग्छ- वरिष्ठ पत्रकार गोपालदास श्रेष्ठ र श्रमजीवी पत्रकार किशोरीरमण राणाहरूको सालिक पनि त्यसै गरी सञ्चारग्रामअगाडि राख्न पाए कति राम्रो हुने थियो ।
त्रिमूर्ति निकेतनको अर्को महत्त्वपूर्ण पक्ष त्यहाँ रहेको पुस्तकालय पनि हो । कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित र उहाँहरूबारे लिखित सामग्रीहरू पुस्तकालयमा राखिएका छन् । साहित्यानुरागीहरूको निम्ति मात्र होइन, उहाँहरूबारे शोध गर्न चाहने अनुसन्धानकर्ताहरूलाई पनि सजिलो भएको छ ।
नेपाली पत्रकारहरूको जस्तै यहाँ साहित्यकारहरूको पनि एउटा त्यस्तो निश्चित ठाउँ छैन जहाँ साहित्यकारहरूको जमघट हुन सकोस् । एकअर्काका कृतिहरूमाथि चर्चा होस् र अरु केही नभए पनि कफी,चिया खान पाइयोस् । विभिन्न मुलुकमा प्रायः पत्रकार र साहित्यकारहरूका क्लबहरू हुन्छन् । ती क्लबहरूमा पुगेपछि कोही न कोही अवश्य भेटिन्छ र कुनै न कुनै नयाँ विषयमा चर्चा हुन्छ । पत्रकारिताक्षेत्रमा सक्रिय भएकाहरूको निम्ति प्रायः विश्वभरि नै प्रेसक्लबहरू छन् । प्रेसक्लबमा पुगेपछि पत्रकारहरूबीच भेटघाट र गाफगाफ मात्र हुँदैन, कुनै न कुनै नयाँ समाचार पनि त्यहाँ भेट्टिन्छ । तर हामीकहाँ भने प्रेसक्लबको गठन भए पनि उचित ठाउँको अभावले त्यो व्यवस्थित हुन सकेको छैन ।
नरेन्द्रराज र इन्दिरा प्रसाईहरूले नेपाली साहित्यको क्षेत्रमा एक प्रकारको चहलपहलको वातावरण सिर्जेका छन् । अब उनीहरूले आफ्नो सक्रियता साहित्यिक चहलपहलमा मात्र सीमित नराखेर साहित्यकारहरूको नियमित भेटघाट गर्ने स्थलको रूपमा साहित्यक क्लबको स्थापना गरी त्यसलाई व्यवस्थित तवरले अगाडि बढाउनेतिर पनि भइदिए नेपालीसाहित्यको क्षेत्रमा एउटा ऐतिहासिक कार्यको प्रारम्भ हुने थियो । यस्तो क्लब हओस् त्यो जहाँ साहित्यकारहरूले औपचारिक अनौपचारिक छलफलहरू गर्न पाउन्, कृतिहरूको समीक्षा हुन सकोस् र नियमित भेटघाटमा तातो चिया वा कफीसँगै छलफल गर्न सकियोस् । नेपाली कृतिहरूको अङ्ग्रेजी अनुवाद पनि साहित्यिक क्षेत्रको आवश्यकता हो । कतिपय नेपाली कृतिहरू विश्वसाहित्यका महत्त्वपूर्ण कृतिहरूभन्दा कम छैनन् । पारिजातको शिरीषको फूल, राष्ट्रकवि माधव घिमिरेको गौरी, सरुभक्तको पागल बस्ती र यस्तै अन्य धेरै कृति अन्तरराष्ट्रिय साहित्यिक बजारमा प्रतिस्पर्धामा उत्रने खालका छन् र अझ त्यसभन्दा बढी नै पनि हुन सक्छन् । मातृभाषामै मात्र सीमित रहँदा तिनीहरूले अन्तरराष्ट्रिय क्षेत्रमा चर्चा पाउन सकेका छैनन् । लुसुन, मेक्सिम गोर्कीहरूका रचना आआफ्नै भाषामा मात्रै सीमित भएका भए आज विश्वसाहित्यमा उनीहरूको नामोनिशानै रहने थिएन । त्यसैले साहित्यिक अभियानकर्ताहरूले अमूल्य कृतिहरूको अनुवादतर्फ पनि ध्यान दिनु जरूरी छ ।
घटना र विचार, २०६१ असोज २० गते बुधवार
|