Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

कसरी बन्यो त्रिमूर्ति ?

                                नरेन्द्रराज प्रसाई

नाटयसम्राट् बालकृष्ण सम जयन्ती समारोहको अवसरमा मैले २०५६ सालमा एउटा मन्तव्य प्रकट गरेको थिएँ-"अब हामी त्रिमूर्तिको पूर्णकद सालिकको निर्माणमा लाग्नेछौँ ।"वास्तवमा त्यसपछि हामी त्रिमूर्ति अर्थात् कविशिरोमणि लेखनाथ पौडयाल,नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकनिर्माणतर्फ जुटिरह्यौँ ।

नेपाली सांस्कृतिक जागरणमा उन्मुख रहँदै, साहित्यिक निष्ठामा बाँधिदै जाँदा सामाजिक दायित्वमा समर्पित हुनुको तात्पर्यबाट भोलिका, भोलिका र त्यसपछि पनि भोलिभोलिका अनेक पुस्तालाई सग्लो जानकारी हुँदै जानुपर्छ भन्ने मान्यता हाम्रो मनमा बस्यो । यसै परिवेशमा हाम्रा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको चार वर्ण छत्तीस जातको फूलबारीमा हामीले आआफ्नै हैसियत,गच्छे र सोच रोपिरह्यौँ । त्यही क्रम जोडिएर नेपाल अधिराज्यको राजधानीको एउटा अत्यन्तै व्यस्त सडकको किनारमा त्रिमूर्ति अर्थात् नेपाली भाषासाहित्यका विभूतित्रयको सालिक स्थापित गर्न हामी सफल भयौँ। सुरुमा हामीलाई यो काम आँट्नु,गर्नु र त्यसैमा लागिपर्नु महाभारत नै लागेको थियो । तर हामीले पितृरूप भूपालमानसिंह कार्की, खनुपरूदे 'रामबाबू', सीताराम प्रसाई र रामचन्द्र तिमोथीजस्ता दानवीरहरूको प्रसाद प्राप्त गर्न सक्यौँ। ती नै दानवीरहरूले गर्दा नै त्रिमूर्तिस्थापनारूप शिखरको आरोहणमा हामी सफल भयौँ । सुरुमा घटराज भट्टराई,इन्दिरा प्रसाई र मलाई यो बाटो अनकन्टार झैँ लागेको थियो । तर बीचबीचमा हामीले आफन्तहरू,दानवीरहरू र महामनस्वीहरू भेट्टाउँदै गयौँ र अन्ततः हामी एउटा स्वणिर्म साझा निकेतनको स्थापना गर्न सफल भयौँ ।

त्रिमूर्ति निकेतनको निर्माणमा हामीलाई चित्रकार कान्छाकुमार कर्माचार्यको त्रिमूर्तिको आकारपरिकल्पना अभिनन्द्य, बालकृष्ण तुलाधरको मूर्तिनिर्माण अतिप्रशस्य र इन्जिनियर तेम्बा शर्पाको निकेतनभवनको नक्सा अत्यन्त श्लाघ्य लाग्यो । यी सबै हिसाब जोडिँदा नै त्रिमूर्तिक्षेत्र जीवन्त र चमकदार भएको हामीले महसूस     गरेका छौँ ।

त्रिमूर्तिको परिकल्पना २०५६ सालतिर भए तापनि यसलाई स्थायी रूप दिन एउटा स्थायी संस्थाको आवश्यकताबोध भई हामीले त्रिमूर्ति निकेतनको विधिवत् स्थापना गर्‍यौँ । नवस्थापित त्रिमूर्ति निकेतनमा चन्दादाताहरूको बाहुल्य रहेको छ । त्रिमूर्ति निकेतन अवस्थित जग्गाजमीन उपलब्ध गर्नेदेखि त्रिमूर्ति निर्माणको लागि सम्पूर्ण रकमसङ्कलन र त्रिमूर्ति परिकल्पना तथा निर्माणमा समर्पित नइ प्रकाशन त्रिमूर्ति निकेतनको संयोजक रहेको छ ।

त्रिमूर्ति निर्माणको क्रममा हामीलाई आर्थिक अवस्थाले पिरोल्नु पिरोलेको थियो । अतः हामी अझै दाताहरू खोज्न थाल्यौँ। यस क्रममा त्रिमूर्ति निकेतनको उद्याननिर्माण गर्न श्रीमती सिन्धुराज्यलक्ष्मी राणाबाट प्राप्त आर्थिक योगदान हाम्रो लागि अविस्मरणीय भयो । फलस्वरूप त्रिमूर्तिस्थल मनोमोहक बनेको छ । वास्तवमा जग्गा, घर, मूर्ति र साजसज्जाको समन्वयले गर्दा त्यो ठाउँ सारै मनोरम देखिएको छ । त्रिमूर्ति विराजमान भएपछि कमल दीक्षतिले भनेका थिए - "यी तीनजना बूढाहरू बार्दलीमा उभिरहेका झैँ देखिन्छन् ।"साँच्चै हो,त्रिमूर्ति सजीव भएर सञ्चारग्राममा उभिएका जस्ता लाग्छन् ।

हामीद्वारा भएको काम हाम्रो लागि गौरवमय र गर्वयोग्य बन्न पुग्नु अहोभाग्य हो । मूर्ति विराजमान गराएपछि त्रिमूर्ति निकेतनभित्र हामीले नेपालीसाहित्यका त्रिमूर्तिको बहुमुखी योगदानको अनुसन्धानको लागि उपयुक्त पुस्तकालय बनाउने निर्णय गर्‍यौ । त्रिमूर्तिबारे अध्ययन, अनुसन्धान र शोधखोज गर्न चाहने विद्यार्थी वा विद्वान्ले निकेतनभित्र पसेपछि वा विद्वान्ले त्रिमूर्तिबारे जानकारी लिन यस निकेतनबाट बाहिर जान नपरोस् भन्ने अठोटसाथ हामी लागिपरेका छौँ । त्रिमूर्ति पुस्तकालयको निर्माणमा श्रीमती सलोमी तिमोथी लेप्चाले सम्पूर्ण आर्थिक दायित्वको वहन गर्नुभएको छ । श्रीमती सलोमी तिमोथी लेप्चाद्वारा प्रारम्भ गरिएको यस योजनामा साझा प्रकाशन र एकता प्रकाशनद्वारा पुस्तकहरू निःशुल्क रूपमा प्राप्त भएका छन् । यस पुस्तकालयभित्र त्रिमूर्तिद्वारा लेखिएका र त्रिमूर्तिबारे लेखिएका कृतिहरू मात्र रहनेछन् ।

भूगोलमा बस्ने जोसुकै नेपालीको लागि पनि नेपालीभाषासाहित्य अत्यन्तै प्रिय विषयवस्तु हो । त्यसैले त्यसमै समर्पित भएर घटराज भट्टर्राई, इन्दिरा प्रसाई र म त्रिमूर्तिमा नै बग्दै नेपालीभाषासाहित्यको आदित्रिमूर्तिमा आइपुग्यौँ। हामी तीनजनाको मिहेनत,जाँगर र समर्पणबाट आज त्रिमूर्ति निकेतनको स्थापना भएको छ । नेपाली साहित्याकाशमा स्थापित त्रिमूर्तिहरूमध्ये सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान अर्थात् सूधपाको त्रिमूर्ति, इन्द्रबहादुर राई, वैरागी काइँला र राष्ट्रकवि ईश्वरवल्लभको आयामेली त्रिमूर्ति र कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका त्रिमूर्तिमध्ये एउटा त्रिमूर्तिलाई एकै ठाउँ स्थापित गराउन हामी स¢ªल भएका छौँ । नेपाली साहित्यसंसारमा बेग्लाबेग्लै तीनवटा मूर्तिले जरा गाडेको भए तापनि हामी अघिल्लो पुस्ताका सुप्रख्यात राष्ट्रिय विभूतिरूप त्रिमूर्तिको निर्माणतिरै लाग्यौँ । यो कार्य हाम्रो राष्ट्रिय दायित्व पनि थियो । यस दायित्वकै परिपूर्तिको क्रममा नेपाली भाषासाहित्यको क्षेत्रमा नेपाल अधिराज्यमा विशिष्ट शैली र प्रस्तुतिको सङ्गमस्वरूप त्रिमूर्तिमन्दिर स्थापित हुन सकेको हो । वास्तवमा हाम्रो यो कार्य यति धेरै अभिनन्दित होला भन्ने लागेको थिएन । तथापि गालीगलौजको खेतीपाती गर्ने छद्मवेशीहरूको कमी भने यहाँ देखिएन ।

जीवनमर्यादाको पालन गर्दै जाँदा त्रिमूर्तिको दफादफामा हाम्रो मन, वचन र कर्म खस्टाउँदै गएको छ । त्रिमूर्ति निकेतनको स्थापना राष्ट्रको लागि सानो कार्य भए तापनि पदलोलुप रही प्रतिष्ठा खोज्ने, आजको नेपालमा हामी शक्तिविहीन, पदविहीन र दलविहीनहरूको लागि यो अत्यन्तै विकट् कार्य थियो । तैपनि दानवीर तथा मनस्वी व्यक्तित्वहरूसँगको व्यक्तिगत आत्मीयताले गर्दा हाम्रो लागि यो दुःसाध्य काम पनि सहज र सरल हुन पुग्यो ।

हामीले कल्पना गरेको त्रिमूर्तिको यो पुनीत कार्य सफल पार्न राष्ट्रकविद्वय माधव घिमिरे र ईश्वरवल्लभदेखि आधुनिक युगका मोतीराम कमल दीक्षतिसम्मले हामीलाई हुटहुटी लगाएका थिए। साथै कमल थापा, मोदनाथ प्रश्रित, नरहरि आचार्य, हरिहर विरही, तारानाथ दाहाल, वसन्तकुमार चौधरी, धरणीधर खतिवडा पनि त्रिमूर्तिनिर्माणार्थ मनैबाट समर्पित भएका मैले अनुभूति गरेको थिएँ। त्यति मात्र होइन, साल्ट ट्रेडिङ कर्पोरेशनले त्रिमूर्तिको प्रचारप्रसारमा गहन भूमिका खेलेको थियो ।

त्रिमूर्तिको सालिक अनावृत हुँदाको प्रसङ्ग पनि हाम्रो लागि आत्मसन्तुष्टिकै विषयवस्तु हुन पुग्यो । समता शिक्षा निकेतनका वर्ष ५ का रचना सुब्बा, सङ्गीता आचार्य र प्रमिला विश्वकर्माबाट त्रिमूर्तिको अनावरण भयो । आर्थिक रूपमा अत्यन्तै पछि परेका विद्यार्थीहरू खोज्दै जाँदा हामीले यी तीन कन्याकुमारी पाएका हौँ । नेपाली परिवेशमा यस कार्यलाई हामीले स्वच्छ, पवित्र र कञ्चन रूपमा ग्रहण गरेका छौँ। त्यति मात्र होइन, ती त्रिकन्यालाई स्नातक तहसम्मको अध्ययनक्रममा आवश्यक शुल्क तिर्नेदेखि शैक्षिक सामग्री, लुगाफाटो र आवश्यक खर्च जुटाउनेसम्मको जिम्मा पनि श्रीमती भूमा कार्कीको सौजन्यवश त्रिमूर्ति निकेतनले लिएको छ ।

त्रिमूर्ति निकेतनको स्थापना आज आएर हर्दा मेरो लागि सपना जस्तै भएको छ । वास्तवमा प्रसववेदनाले छटपटाएकी आमा सन्तान पाएपछि जसरी हलुङ हुन्छे त्रिमूर्तिको अनावरण भएको दिन घटराज भट्टराई, इन्दिरा प्रसाई र म त्यसरी हलुङ भएको मैले महसूस गरेको थिएँ ।

० मधुपर्क, २०६१ मङ्सीर


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies