गुनको चर्चा: दुर्गानाथ शर्मा
गुनको चर्चा
दुर्गानाथ शर्मा
२०१० सालतिरको कुरा हो । म त्यसवेला केटाकेटी नै थिएँ । हाम्रा प्रसिद्ध साहित्यकारहरू, नाटककारहरू लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडयाल र बालकृष्ण सम नेपालीभाषा प्रकाशिनी समितिको स्थापनाको सिलसिलामा इलामको करफोक पुग्नुभएको थियो । त्यसैवेला तात्कालिक श्री ५ युवराजाधिराज महेन्द्रका बाहुलीबाट करफोक विद्या मन्दिरको समुद्घाटन भएको थियो । त्यस करफोक विद्या मन्दिरमा पढेर अहिले इलामका थुप्रै व्यक्ति साहित्यकार तथा विद्वान् भएका छन् र आआफ्नो क्षेत्रमा गहकिलो योगदान दिइरहेका छन् ।
करफोक विद्या मन्दिर अहिले पनि छँदैछ । तर नेपाली भाषासम्बन्धी त्यो संस्था भने छैन र त्यस संस्थाको बीजारोपण गर्ने महान् सारथिहरू पनि अब यस संसारमा छैनन् । मैले यी तीनैजना साहित्यका महारथीलाई करफोकको डाँडामा देखेको थिएँ । मेरा पिता प्रजापति उपाध्यायले मलाई तिनको परिचय दिनुभएको थियो । उहाँले मलाई चिनाउँदा लेखनाथ पौडयालको लामो दाह्री देखाई परिचय दिनुभएको थियो भने बालकृष्ण समले लगाएको पोशाकबाट परिचय दिनुभएको थियो । उहाँले देवकोटालाई चाहिँ टाढैबाट मलाई चिनाउनुभएको थियो । त्यसपछि जब म यी महारथीहरूलाई यिनका कृति पढेर चिन्न सक्ने भएर काठमाडौँ आएँ, त्यसवेला उहाँ हरूमध्ये समबाहेक सबैजना यस संसारबाट बिदा भइसक्नुभएको थियो । सम भने जीवितै हुनुहुन्थ्यो । मैले गोरखापत्रमा काम गर्दा ज्ञानेश्वरस्थित समको घरमा गएर उहाँका कलाकृतिहरू चाहिँ हेरेको छु । मलाई ती कृति हेर्न लैजाने व्यक्ति गोरखापत्रका तात्कालिक कार्यकारी सम्पादक एवं कलासमीक्षक नारायणबहादुर सिंह हुनुहुन्थ्यो । अहिले उहाँको पनि निधन भइसकेको छ ।
गत साता काठमाडौँको सञ्चारग्राममा यी तीनै साहित्यकारको समष्टि त्रिमूर्तिको अनावरण भएपछि मेरो दिमागमा ती करफोकका दिनहरू झन् सिनेमाका रिल झैँ देखा परे । नरेन्द्रराज प्रसाईले मलाई पनि अनावरण समारोहको निमन्त्रणा दिनुभएको थियो, तर कार्यालयको कुनै महत्त्वपूर्ण काममा फसेर म स्वयम् उपस्थित हुन सकिन । वास्तवमा त्यसदिन मलाई साह्रै दुःख पनि लागेको थियो ।
त्यस समारोहको अर्कै र आफ्नै विशेषता पनि थियो । यो अनावरण समारोह कुनै प्रधानमन्त्रीज्यू , मन्त्रीज्यू अथवा कुनै विशिष्ट व्यक्तिहरूबाट भएको थिएन, तीनजना ससाना कन्याहरूबाट भएको थियो । पाँच वर्षिय त्रिकन्या रचना सुब्बा, सङ्गीता आचार्य र प्रमिला विश्वकर्माजस्ता अबोध बालिकाहरूले सो त्रिमूर्तिको अनावरण गरेका थिए । मैले करफोकमा ती त्रिमूर्तिलाई देख्दा म यिनै अबोध बालिकाजस्तै थिएँ । मैले त्यसवेला मुनामदन पढेको थिइनँ, कालमहिमा पनि पढेको थिइनँ र चिसोचुह्लो पनि पढेको थिइनँ । शायद अहिलेका यी तीन बालिकाले पनि पढेका छैनन् ।
समता शिक्षा निकेतन जोरपाटीमा अध्ययन गर्ने ती त्रिकन्यालाई स्नातकसम्मको अध्ययन गर्दा लाग्ने खर्च समेत त्रिमूर्ति निकेतनले लिएको र तीनैजना कन्याको संरक्षण भूपालमानसिंह कार्कीकी पत्नी भूमा कार्कीले लिएको कुरा सुन्दा मेरो मन रमाएको थियो ।
त्यसैवेला त्यहाँ सलोमी तिमोथीको सौजन्यबाट त्रिमूर्तिका कृतिहरूको पुस्तकालय स्थापित भएको जानकारीले मलाई कस्तो लाग्यो भने यसरी सामाजिक कार्यमा सकारात्मक सोचाइ राखेर अगाडि आउने नेपालीहरू पनि थुप्रै रहेछन् ।
यो सबै कामको मुख्य श्रेय चाहिँ नरेन्द्रराज प्रसाई र श्रीमती इन्दिरा प्रसाईलाई जान्छ । नरेन्द्रराज प्रसाई मेरा मित्र हुनुहुन्छ । साहित्यको सेवामा उहाँको योगदान ठूलो छ । अहिलेका पुस्ताले नभए पनि भोलिको पुस्ताले यो योगदान थाहा पाउनेछ । उहाँले थुप्रै फाउन्डेशनमा काम गरेर हाम्रा साहित्यकारका जीवनी र कृति बाहिर ल्याइदिने काम पनि गर्नुभएको छ । उहाँ अत्यन्तै परिश्रमी हुनुहुन्छ । पतिपत्नी दुवै साहित्यकार पनि भएकोले पनि यस्ता कार्यमा उहाँको जोडी अत्यन्तै सफल भएको छ । समाजसेवी भूपालमानसिंह कार्कीदेखि लिएर बालकृष्ण समसम्मका कृतिहरूबारे पाठकसमक्ष चर्चाविचर्चा ल्याइदिएर उहाँहरूले अनुसन्धान गर्न चाहनेहरूलाई ठूलो मद्दत गर्नुभएको छ ।
नइ प्रकाशनको संयोजनमा स्थापित त्रिमूर्ति निकेतनको निर्माण गर्न सीताराम प्रज्ञाप्रतिष्ठानबाट दई लाख पचास हजार रुपैयाँ, श्री ५ को सरकार, एकता प्रकाशन, भूपालमानसिंह कार्की प्रज्ञापरिषद्, देरुनिख र्सार्वजनिक हित गुठी, बालकृष्ण सम फाउन्डेशन, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानबाट दुईदुई लाख रुपैयाँ प्राप्त भएको थाहा छ । यी सबै संस्थाको साहित्य र साहित्यकारप्रतिको माया र श्रद्धाकै फलस्वरूप त्याहाँ ढलोटका सरदर ६ फुट उचाइको त्रिमूर्तिको निर्माण भएको हो
यो त्रिमूर्तिको डिजाइन बालकृष्ण तुलाधर र के.के. कर्माचार्यले गर्नुभएको हो । उहाँहरू आआफ्नो क्षेत्रका प्रसिद्ध कलाकार हुनुहुन्छ ।
सञ्चारग्राममा स्थापित यो त्रिमूर्ति हेरेर नेपाली साहित्याकाशका नक्षत्रहरूलाई नेपालका भावी पुस्ताले सम्झिरहनेछन् र यिनले नेपालीसाहित्यलाई लगाएको गुन र योगदानको चर्चा भइरहनेछ । भानुभक्तलाई प्रकाशमा ल्याउन मोतीराम भट्टको ठूलो योगदान रहेजस्तै नयाँ पुस्ताका हाम्रा साहित्यकारहरूको प्रसिद्धि र योगदान पनि जिउँदो रहनेछ । यो महान् काम गरेबापत हामीले त्रिमूर्ति निकेतनका प्रसाईदम्पतीलाई धन्यवाद दिनुपर्छ ।
वास्तवमा यस्ता कार्यहरू नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट हुनुपर्ने हो । तर हाम्रो त्यो प्रज्ञाप्रतिष्ठान कमलादीमा सिरक ओढेर सुतिरहेको छ । नेपालको साहित्य, कला र संस्कृतिको विकास र प्रवर्धन गर्न भनेर सो प्रज्ञाप्रतिष्ठानको स्थापना गरिएको हो । तर उक्त प्रज्ञाप्रतिष्ठानबाट बजेटलाई औँल्याएर काम गर्न नसकेको गुनासो पोख्नुबाहेक अन्य कुनै पनि, औँलामा गन्न सकिने सुकार्य भएको देखिँदैन । सुतेरै जागीर मात्र खाने हो र गन्धे राजनीति मात्र गर्ने हो भने जनताको पसीनाबाट उठेको कर खर्च गरेर सेतो हात्ती किन पाल्ने ? प्रज्ञाप्रतिष्ठानबाट कति पुस्तक छापिए, कसका पुस्तक छापिए र तिनको बिक्री केकति भयो ? त्यसले साहित्यको कति सेवा गर्यो यसबारे लेखाजोखा गर्ने वेला आइसक्यो । त्यहाँपनि आफ्नै मान्छेका पुस्तक मात्र छापिन्छन् भन्ने चर्चाहरू सुन्नमा आएका छन् ।
राजधानी दैनिक, २०६१ भदौ २६ गते शनिवार
|