Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

मुलुकको सम्मान: दीपकमणि \'दाजुभाइ\'

मुलुकको सम्मान

दीपकमणि 'दाजुभाइ'

ढोकैमा छन् कमल बाबु । उपस्थित सबैलाई विनम्र स्वागत गर्छन् उनी र भित्र   पठाउँछन् । भित्र साहित्य र संस्कृतिसँग सम्बद्ध अग्रज स्रष्टाहरू छन् । पछिल्लो पुस्ताका जुझारु युवाहरू छन् र भाषा साहित्यलाई माया गर्ने उद्योगपति, व्यवसायी र समाजसेवीहरू छन् ।

त्यसो त भित्र पिउने र पिलाउने क्रम चलिरहेछ । शनिवारको फुर्सदिलो मध्याह्न । वर्षा रित्तिएर शरद्लाई पच्छयाइरहेको तन्नेरी घाम र मानिसका अतृप्त आकांक्षाकै तन्केको आकाशको   शालीनता । सबै प्रिय छन् यतिखेर । जुसका क्यानहरू खुल्छन् र खुलिरहन्छन् । बियरका  गिलास रित्तिन्छन्, भरिन्छन् पटकपटक । आकाशमा सलबलाइरहेका सेता बादलहरूकै यताउता सलबलाइरहेका वेटर स्रष्टाहरूको उत्साहपूर्ण उपस्थिति कम रोचक लाग्दैन यतिखेर । त्यसमा पनि कमल बाबुको फर्‍याकफुरुक । हँसिलो अनुहारमा पालो मिलाएर सबैसँग बोल्न भ्याइहाल्छन् उनी । छोरी अन्माउँदाको हतारो छ उनीमा । भ्याईनभ्याई उनी सबैको बगलमा पुग्छन् र खाएनखाएको हेरिहाल्छन्- 'खानाचाहिँ मीठो मानेर खाऊ“ है ।

कमलबाबुलाई जत्तिकै चटारो छ नरेन्द्रको जोडीलाई । मानौँ बेहुलीका घरका जेठा छोरा बुहारी हुन् यिनीहरू । पाहुनाको स्वागतसत्कारमा रत्तीभर कमी नआओस् भन्ने कुरामा उनीहरू सचेत छन् र हरपल सबैमा नजर पुर्‍याउँछन्- 'ढुक्कसँग खाऊ“ है ।'

त्रिमूर्तिस्थापनाको उपलक्ष्यमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा आयोजित दिवाभोजमा छौँ हामीहरू यतिखेर । त्रिमूर्तिको स्थापना आँफैमा ठूलो उपलब्धि हो नेपाली साहित्यको लागि । नेपाली भाषासाहित्यका शिर्षपुरुष कविशिरोमणि लेखनाथ पौड्यल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा हाम्रो लागि देवदूत हुन् । अघिल्लो दिन त्रिमूर्तिको पूर्णकदको सालिकको अनावरणक्रममा राष्ट्रकवि माधव घिमिरेले भनेका थिए- 'स्रष्टाहरू मट्टीका काया हुन् । तर आफ्ना रचनामा उनीहरू देवदूत बनेर जान्छन् ।' राष्ट्रकवि उत्साहित हुँदै बोलिरहेथे- 'नेपालीसाहित्यका यी तीनै युगान्तकारी स्रष्टा हाम्रा देवदूत हुन् ।'

घटराज भट्टराई, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको अथक प्रयासले नै त्रिमूर्तिको स्थापना सम्भव भएको हो । त्रिमूर्ति स्थापनाको सर्न्दर्भमा यी तीनको जति नै प्रशंसा गरे पनि कम हुन्छ । हामीकहाँ विशेष गरी भाषा साहित्यको क्षेत्रमा कामभन्दा कुरा गर्नेहरू बढी छन् । कुराकै भरमा अरुलाई होच्याएर आफु अग्लिनेहरू पनि छन् । त्यति मात्र कहाँ हो र कुराकै सहाराले अरुका असल कामलाई बलजफ्ती ओझेलमा पारेर आफु अग्रणी बन्न चाहनेहरू पनि धेरै छन् । तर नरेन्द्रको जोडी काममा विश्वास गर्छन् । नइ भनेर चिनिने यस जोडीको काममा खोट देखाउन नसकेपछि केही मान्छे उनीहरूको निजी जीवनको आलोचना गर्दै हिँड्ने गरेका छन् र नइलाई होच्याएर आफु अग्लिने लोभमा छन् । हे दैव; कामलाई सम्मान गर्ने परिपाटी नइले जस्तै अरुले कहिले सिक्लान् ? यहाँनेर हामी दुइ दाजुभाइलाई धेरैले नइको ज्यादा प्रशंसा गरेको भन्न सक्छन् र पुरस्कारको लोभ गरेको आरोप पनि लगाउन सक्छन् । तर हामी खुलेर ती मान्छेहरूलाई सोध्न चाहन्छौ-'तपाईंहरूले भाषा साहित्यको लागि के गर्नुभएको छ ? यस प्रश्नले नपुगे एउटा त्यस्तो व्यक्ति देखाउनुस् जसले निजी रूपमा भाषा साहित्यको क्षेत्रमा नइले जत्तिकै काम गरेको होस् ।

हामी दाजुभाइ मान्छेका असल कामको खुलेर प्रशंसा गर्र्छौं । समाजमा दान दिनेहरू त धेरै छन् तर त्यस दानको सदुपयोग कसले कसरी गरेको छ त्यो महत्त्वपूर्ण कुरो हो । दानको सदुपयोग गर्ने मामलामा नरेन्द्रको जोडीलाई कसले जित्ने ?

दिवाभोजमा अतिथि आउने क्रम बढ्दै गएको छ । कमलबाबु र नरेन्द्रको जोडीलाई चटारो थपिएको छ । अग्रज साहित्यकारदेखि लिएर पछिल्लो पुस्ताका गोवर्धनपूजासम्मको उपस्थिति   छ । सबै उत्तिकै उत्साहित र रोमाञ्चित । 'त्रिमूर्तिको स्थापना ऐतिहासिक उपलब्धि हो भन्ने कुरामा कसैको विमति छैन । भोजमा सहभागी मात्र होइन आमनेपाली र नेपाली भाषासाहित्यलाई माया गर्ने सबैले त्रिमूर्तिको स्थापना ऐतिहासिक उपलब्धि हो भन्ने कुरामा सहमतिको ल्याप्चे लगाएका छन् ।

मुलुकको भाषा साहित्यलाई व्यावसायिक प्रतिष्ठानहरूले सम्मान गर्नुपर्छ र त्यसमा आफ्नो प्रत्यक्ष सहभागिता जनाउनुपर्छ भन्ने कुरा कमलमणि दीक्षति र साल्ट ट्रेडिङ कर्पोरेशनबाट अरु व्यावसायिक प्रतिष्ठानहरूले पनि सिके हुन्थ्यो भन्ने लाग्छ । त्यसो त सिक्ने र शिक्षा लिने कुराहरू गर्ने हो भने त यो राज्य स्वयंले निजी क्षेत्रबाट सिक्नुपर्ने कुराहरू धेरै छन् ।

आमनागरिकको पदीय मर्यादाको सम्मान गर्न नजान्ने यस राज्यले स्रष्टाहरूलाई निःस्वार्थ सम्मान कहिले गर्ला; उनीहरूको सिर्जनाको मूल्य कसरी चुकाउला ?

सरकारी भत्ता खाएर मोटाएका साहित्यिक संस्थाहरूले नगरेको काम त्रिमूर्ति निकेतनले गरेको छ । आउनोस् हामी सबै मिलेर असल काम गर्नेहरूको प्रशंसा गरौ“ । हाम्रो प्रशंसा अर्को असल कामको लागि प्रेरणा पनि हो:

साहित्यका उज्ज्वल तीन तारा

उदाइ रे’छन् अब हेर सारा

कलैकलाको अमरापुरीमा

धर्तीभरीको सुनको धुरीमा।

                              राष्ट्रकवि माधव घिमिरे

घटना र विचार, २०६१ भदौ १६ गते बुधवार


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies