Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

ऐतिहासिक महायज्ञ: डा. देवीप्रसाद सुवेदी

ऐतिहासिक महायज्ञ

डा. देवीप्रसाद सुवेदी

तिलगङ्गा क्षेत्रको परिसर र सञ्चारग्रामको मुटुमा भव्य समारोहबीच तीन कन्याले त्रिमूर्ति प्रतिमाको अनावरण गरे- नेपाली साहित्यका तीन मूर्धन्य प्रतिभा लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकाटाको । मानौँ यी तीन महान् व्यक्तित्वहरू अ, उ, म तीन वर्णसंयुक्त प्रणव अक्षरका प्रतीक हुन् अथवा सृष्टि, स्थिति र प्रलयका प्रतीक ब्र≈मा, विष्णु र महेश्वर हुन् । आधुनिक नेपालीकविताका प्रवर्तक लेखनाथ, आधुनिक नेपाली नाटकका प्रथम प्रणेता बालकृष्ण सम र आधुनिक नेपालीकविताका स्वच्छन्दतावादी धाराका प्रथम संवाहक लक्ष्मीप्रसाद देवकोटालाई प्रतिमाका रूपमा एउटै ठाउँमा पूर्ण कदमा उभ्याउने नइ प्रकाशनको अथक प्रयासले पूर्णता प्राप्त गर्‍यो ।

राष्ट्रको सामाजिक राजनीतिक क्षेत्रको पारम्परिक अविश्वास र घातप्रतिघातले मुलुक आहत भइरहेको वेला राष्ट्रकै मुटु मानिने साहित्य, कला र संस्कृतिलाई जीवन्तता दिन गरिएका सशक्त प्रयासहरूले र्सार्थकता पाउँदै गरेको श्रङ्खलाको एक महत्त्वपूर्ण कडी थियो नेपाली साहित्यका त्रिमूर्ति प्रतिमाको स्थापना र त्यसको अनावरण पनि । हाम्रो नेपाली सामाजिक जातीय वर्गहरूको प्रतिनिधित्व गर्न त्रिकन्याहरू सुधा, सङ्गीता र प्रमिलामा सामाजिक जातीय समन्वयको सजीवता पाइन्थ्यो र नाट्यसम्राट् बालकृष्ण समको "मानिसको जात मानिस नै हो उसको अर्को जातै छैन" र महाकवि लक्ष्मीप्रसाद देवकोटाको "मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन" जस्ता मानवतावादी महान् उक्तिहरूले र्सार्थकता पाएको दिन थियो त्यो ।

आफ्ना पूर्वज र अग्रज प्रतिभाहरूलाई प्रेरणास्रोत मानेर तिनको सम्मान गर्ने परम्परा नेपालीसाहित्यका माध्यमिक कालका अग्रणी प्रतिभा युवा कवि मोतीराम भट्टले सुरु गरेका हुन् भानुभक्त आचार्यको जीवनी रचेर । त्यस परम्परालाई अग्रगति दिने नेपाली भाषासाहित्यका वरिष्ठ स्रष्टा र सेवक कमल दीक्षिलाई आधुनिक युगका मोतीराम (राष्ट्रकवि ईश्वरवल्लभले २०४७ सालमा यो पदवी नरेन्द्रराज प्रसाईलाई दिनुभएको थियो) मानी माल्यार्पण गरेर नरेन्द्रराज प्रसाईले देखाएको सौमनस्यको परिचय त्रिमूर्तिको अनावरणकार्यक्रममा पनि पाइएकै थियो । कमल दीक्षित उक्त कार्यक्रममा सभापतिको आदरणीय स्थानमा आसीन थिए । त्यति मात्र नभएर राष्ट्रकवि माधव घिमिरेलाई उचित आसन दिएर आजको नेपालीसाहित्य र त्रिमूर्ति (लेखनाथ, सम र देवकोटा) सँग सान्निध्यमा रहेर काव्यसिर्जनारत रहेका जीवित साहित्यप्रतिभाको सम्मान समेत गरिएको थियो ।

नेपाली साहित्यका ती टाकुरा तीन महान् प्रतिभाको ऐतिहासिक प्रतिमाको स्थापनादेखि लिएर आधुनिक साहित्यका अग्रणी प्रतिभाहरूलाई कार्यक्रममा अग्रिम स्थान दिने अनि नेपाली कलासाहित्यका अनेक प्रतिभाहरूसँग सम्मिलित भएर साहित्यको विशिष्ट अर्चना गर्ने नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईका सत्कार्यहरूप्रति साधुवादको अभिव्यक्ति कार्यक्रमका प्रत्येक सहभागीको मनले गरिरहेको थियो । अनि प्रतिमा निर्माण समितिका अध्यक्ष प्राध्यापक घटराज भट्टराईको सहयोगको निरन्तरताले सबैको स्मृतिपटमा स्थान पाएको थियो ।

नरेन्द्रराज प्रसाई नेपालीसाहित्यका चर्चित गीतकार र निबन्धकार एवं जीवनीप्रबन्धका सफल स्रष्टा पनि हुन् । तर उनी सिर्जनात्मक क्षमता मात्र राख्दैनन्, त्यसभन्दा बढी साहित्यिक र साहित्यकारहरूको प्रकाशनमा निरन्तर साधनारत छन् । यस्ता कार्यमा उनले आफ्नै सक्रिय साहित्यिक प्रतिभा रहेकी इन्दिराको सहभागिताको सान्निध्य पाएका छन् । अनि नेपालका स्वनामधन्य व्यक्तित्वहरू जनरल भूपालमानसिंहकी धर्मपत्नी भूमा कार्की, सीताराम प्रतिष्ठानका संस्थापक एवं कुलपति सीताराम प्रसाई, देरुनिख र्सार्वजनिक हित गुठीका संस्थापक खनुप्रुदे प्रसाई, एकता प्रकाशनका अध्यक्ष रामचन्द्र तिमोथी जस्ता भाषा साहित्यप्रेमी दानवीरहरूको भौतिक सहयोग पनि उपलब्ध गरेका छन् र तिनका सात्त्विक दानबापत तिनको सम्मान पनि गरेका   छन् । त्रिमूर्तिको अनावरणसम्बन्धी कार्यक्रमरूप महायज्ञका प्रत्येक सहभागी व्यक्ति नरेन्द्र र इन्दिराका सत्प्रयास र सत्कार्यप्रति सादर नतमस्तक बनेको थियो । नेपाली भाषा र साहित्यको यो महायज्ञ नेपाली साहित्यको इतिहासका पानामा स्वर्णाक्षरले लेखिनेछ र कर्मयोगी यी नइ प्रतिभा पनि अमर हुनेछन् ।

युगसंवाद साप्ताहिक, २०६१ भदौ २२ गते मङ्गलवार


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies