Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

त्रिमूर्तिगाथा: ठाकुर पराजुली (प्रा)

त्रिमूर्तिगाथा

ठाकुर पराजुली

त्रिमूर्तिगाथा २०६१ साल भदौ ११ गते सञ्चारग्रामको प्रवेशद्वारसँगै स्थापना गरिएको त्रिमूर्ति निकेतनको सेरोफेरोमा रहेर देशका कवि, लेखक, वुद्धिजीवी र  पत्रपत्रिकाहरूका सम्पादकीय स्तम्भहरूले व्यक्त गरेका लेख र विचारहरूको सङ्कलन गरी तयार गरिएको अभिलेख हो ।  नेपालीसाहित्यलाई नवयुगमा प्रवेश गराउने लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाका प्रतिमा त्रिमूर्ति निकेतनमा स्थापित भएका छन् । तिनीहरूका व्यक्तित्व र कृतित्वका पक्षलाई सङ्क्षेपमा चिनाउने परिचयात्मक लेखहरू यसमा समाविष्ट भएका छन् ।

      भनिन्छ- कविलेखकहरू राष्ट्रका आत्मा हुन् । देशको मर्म र पहिचानलाई कविलेखकहरूले नै वाणी दिएका हुन्छन् । कविका वाणीमा समसामयिक जीवनको चित्र मात्र कुँदिएको हुँदैन त्यस राष्ट्रको इतिहास, संस्कृति र जीवनपद्धति पनि मुखरित भएका हुन्छन् । यस अर्थमा उनीहरूलाई सभ्यताका निर्माता पनि भन्ने गरिन्छ । यथार्थमा राष्ट्रको गौरव र गरिमा त्यस देशको भूबनोट र भौतिक विकासमा मात्र आधारित रहेको हुँदैन बरु त्यस देशका कवि,लेखक र कलाकारजस्ता मनीषीहरूको प्रज्ञा र साधनामा बढी निर्भर रहेको  हुन्छ । त्यसैले कवि मनीषीहरूका वाणी वा काव्यमा राष्ट्रको आत्मा बोलेको हुन्छ भन्ने उक्ति सबैतिर चरितार्थ भएको देखिन्छ ।

      गौरवपूर्ण सभ्यतामा गर्व गर्ने समुन्नत मुलुकहरू आफ्ना मौलिक पहिचानको जगेर्ना गर्नमा सघाउ पुर्‍याएका त्यस्ता कवि कलाकारहरूको सम्मानमा पछि परेका हुँदैनन् । त्यस्ता देशमा कवि कलाकारहरूको स्थान सधैँ नै अग्र स्थानमा रहेको हुन्छ र र्सवसाधारणलाई उनीहरूबाट भएका गरिमापूर्ण कार्यको उद्बोधन गराउन राज्य पक्षले पनि ठूलो लगानी गरेको हुन्छ । वास्तवमा बाटोघाटो र उद्योगधन्दाको विकासबाट देशको भौतिक समृद्धिको निर्माण भए पनि कला,साहित्य र वाङ्मयको उत्थान नभएसम्म त्यस देशको प्राणसञ्चार नभएकै मानिन्छ । देशको प्राण भन्नु नै बौद्धिक वा प्राज्ञिक सम्पत्त्ति हुन् । बौद्धिक उत्थानमा नै  देशको सभ्यता र संस्कृतिको विकास निर्भर हुन्छ ।

      कला,साहित्य र संस्कृतिको उत्थान कवि मनीषीहरूका सिर्जना र प्रतिभाविना सम्भव  हुँदैन । त्यसका प्रत्यक्ष प्रमाण हुन् हाम्रा प्राचीन साहित्य र वाङ्मय । वैदिक वाङ्मय र रामायण, महाभारतजस्ता काव्यकृतिहरूले भारतीय र हिमाली उपमहाद्वीपका आर्यसभ्यतालाई अहिलेसम्म दीप्तिमान् र गौरवपूर्ण बनाइराखेका छन् भने ग्रीक साहित्यले ग्रीक र रोमन सभ्यताको यूरोप अमेरिकाव्यापी प्रभावलाई अक्षुण्ण राखेका छन् । त्यस्तै पूर्वमा चिनिया सभ्यताको इतिहास संसारभरि नै गर्व गर्न लायक छ भने पश्चिमी एसियामा इजिप्सियन सभ्यताको वर्चस्व      कायम छ । यो सबै सम्बद्ध देशका कविमनीषीहरूको प्राज्ञिक साधना र तिनीहरूप्रति राज्यपक्षबाट भएको सम्मानको सहकार्यबाट संभव भएको हो । यसबाट के कुराको पुष्टि हुन्छ भने कुनै पनि देशको आफ्नो मैलिकता वा सभ्यता त्यस देशका  प्राज्ञिक वा वौद्धिक वर्गको साधना र योगदानबाट मात्र फस्टाउन सक्छ ।

      नेपालको इतिहासमा पनि गौतम बुद्धदेखिका त्यस्ता धेरै महामनीषी र प्रज्ञावान् द्रष्टाहरूको प्रादुर्भाव भएको छ । तिनले नेपाली इतिहास र परम्पराका धरहराको निर्माणमा अपूर्व योगदान गर्दै आइरहेका छन्  । जहाँसम्म नेपाली- साहित्यको प्रश्न छ नेपालीसाहित्यको नवयुग लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाका अन्तदृष्टि र अन्तःप्रज्ञालाई राष्ट्रिय समग्रताका साझा चिन्तनस“ग मिसाउँदै उनीहरूका काव्य,नाटक र गद्यविधाका कृतिद्वारा निर्देशित हुँदै नेपाली प्राज्ञिक सभ्यताको नया“ पृष्ठ थप्न कृतसङ्कल्प छ । यो साझा प्रयासमा सिद्धिचरण,रिमाल, हृदयचन्द्रसिंह प्रभृति धेरै हाम्रा पूर्वज प्रतिभाहरूले र नव पुस्ताका कवि मनीषीहरूले पनि गच्छेअनुसारको योगदान गर्दै आएका छन् । तर प्रारम्भमा यिनै हाम्रा तीनजना कवि मनीषीहरू नै नवयुगीन साहित्याकाशका सूर्योदयका रूपमा उदाएका हुन् र त्रिमूर्तिका तीनवटा प्रतिमाका रूपमा स्थापित हुन आएका छन् ।

       नेपालीसाहित्यको प्राज्ञिक परम्परालाई पहिलोपटक ठम्याउने अग्रदूत भएर आएका थिए मोतीराम भट्ट । उनले भानुभक्तलाई पहिल्याए र नेपाली जातीय एकतालाई जोड्ने रामायणलाई हाम्रो अगाडि ल्याइदिए । प्रतिभा पहिचानका त्यस्ता अनेक सिँढीको निर्माण हुँदै त्रिमूर्तिस्थापनासम्मको यात्रामा केही त्यस्ता अरु पनि मोतीराम जन्मन पुगेका छन् । तिनको अग्निपरीक्षा समयले गर्दै आएको छ । आजभन्दा पचास वर्षगाडि पनि मदनपुरस्कार पुस्तकालयको कल्पनाद्वारा नेपालीभाषा र साहित्यका माध्यममा विकसित हुँदै आएको नेपालको बौद्धिक चिन्तन र कलात्मक सीपलाई हुर्काउन अथक प्रयास गर्ने कमल दीक्षित नवयुगीन मोतीरामका रूपमा प्राज्ञिक इतिहासको रामायण खोज्नमा तल्लीन रहेका थिए र अहिले   पनि छन् । तिनै अग्रदूतहरूका डोब र प्रयासको अनुसरण गर्दै प्रतिमास्थापनाको लागि अहोरात्र खटिएका युवा दम्पती नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईका दृढ सङ्कल्पपछि सञ्चारग्राममा नेपालीसाहित्यका लेखनाथ पौड्याल,बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाका प्रतिमा त्रिमूर्तिका नामबाट स्थापित भएका छन् । यिनीहरूको संक्षिप्त परिचय यस गाथाबाट पाउन सकिनेछ । यथार्थमा लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा भन्नु नै नेपालीसाहित्यका ब्रह्मा, विष्णु र महेश्वर हुन्  । औपनिषद् चेतनादेखि विश्वचेतनासम्मको रन्को दिएर नेपालीसाहित्यलाई नवयुगमा प्रवेश गराउन यी तीन प्रतिभाले कुनै कसर बाँकी राखेका छैनन् ।

      त्रिमूर्तिका प्रतिमास्थापनाको लागि प्रसाईदम्पती नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको साहस,सङ्कल्प र लगनलाई एक नमूनाकै रूपमा लिन सकिन्छ । त्रिमूर्ति निकेतनलाई पुरस्कार दिलाएर हुन्छ कि दानवीर दाताहरूलाई आकषिर्त गरेर हुन्छ प्रसाईदम्पती आवश्यक रकम जुटाउन समर्थ मात्र भएनन् सञ्चारग्राममा ती प्रतिभाहरूका प्रतिमाको स्थापना गराउन सफल पनि भए । यस दृष्टिले त्रिमूर्तिगाथामा प्रसाईदम्पतीका जेजति चर्चा भएका छन् उनीहरूले स्थापना गरेका कीर्तिमानको निम्ति ती चर्चा स्वागतयोग्य नै छन् । दानवीर दाताहरूले पनि प्रतिमास्थापनाको लागि आफ्नो मनको ढुकुटी खोलेर जेजति मुठी फुकाएका थिए त्यो उदारता सावाँब्याज असुल्ने नीयतले देखाएका थिएनन् । नेपाली साहित्यका माध्यमबाट यी तीन प्रतिभाहरूले नेपाली भाषालाई जुन ओज,बल र आयाम दिएका छन् त्यसबाट राष्ट्रिय एकतालाई बल पुगेको र आफ्नो मौलिक संस्कृतिको कडी जोडिँदै आएको देखेर नै ती दानवीरहरूले आफ्नो मनको ढुकुटी खोलेका हुन् । यसनिम्ति पनि दाताको सौजन्यसँगै प्रसाईदम्पतीको सङ्गठनकलालाई जस दिनै पर्दछ ।

      सञ्चारग्रामकै प्रवेशवाटिकामा त्रिमूर्तिको स्थापना हुनु अर्को सुखद कुरा भएको छ । हिजोका दिनसम्म राष्ट्रको गौरव बढाउने कुनै पनि राजनेता वा विभूतिहरूका प्रतिमा त्यस्तै सडक र राजमार्गका चौरस्ताहरूमा स्थापना गरिन्थ्यो र उनीहरूले गरेका योगदान र तिनका सुयश सबैतिर फैलाइदिन प्रयत्न गरिन्थे । तर अहिलेका व्यस्त सडकबाट त्यस प्रकारका सुविधाको प्राप्ति संभव देखिँदैन ।

      सडकमा थरीथरीका गाडीका ठेलमठेल र पेटीमा पैदल यात्रुको मल्लदौड आजका यात्रुको नियति भइसकेको छ र व्यस्त जीवनको त्यस दौडमा कुन चोक र मोडमा कसको प्रतिमा स्थापना गरिएको छ  भनेर टक्क उभिएर अवलोकन गर्ने अवसर आजका पैदल यात्रुले गुमाइसकेका छन् । अहिलेका सबै चौबाटा ट्राफिक प्रहरीको कब्जामा पुगिसकेका छन् र त्यस्ता ठाउँहरूमा यात्रुले उभिएर दृश्यावलोकन गर्ने त के कुरा पलभरको लागि  उभिन सक्ने परिस्थिति पनि अहिले हराइसकेको छ । चालीसपचास प्रतिघण्टाका वेगमा गाडीहरू कुदिरहने सडकका चौबाटा अब यस्ता प्रतिमा उभ्याउनको लागि लायक थिएनन् । त्यसैले पनि यी तीन मूर्तिको लागि सञ्चारग्रामको छनोट सारै सामयिक र बुद्धिमत्तापूर्ण निर्णय देखिन्छ । त्यस्तो उपयुत्त्ठाउँ उपलब्ध गराउन सकेकोमा त्रिमूर्तिका योजनाकार र व्यवस्थापकहरूलाई मुरीमुरी बधाई दिनुपर्छ ।

      त्रिमूर्ति स्थापना भएको लगतै पछि स्थापनाको औचित्य, त्यसको भावी कार्ययोजनाप्रतिको सोच र यस कार्यसँग संबद्ध सबै महानुभावहरूको योगदानबारे कवि, लेखक, पत्रकार र संबद्ध सबै वुद्धिजीवीहरूले जेजस्ता धारणा र विचार समसामयिक पत्रपत्रिकाहरूमा व्यक्त गरे ती सबै वौद्धिक अभिमतमा त्रिमूर्तिस्थापनाका सञ्चालकहरूलाई मार्गनिर्देशन गर्ने दूरगामी सुझाव समेत समेटिएकाले त्यस्ता विचारलाई सङ्कलित गरी त्रिमूर्तिगाथालाई यो रूप दिइएको छ । यसले त्रिमूर्ति निकेतनका योजनाकार र व्यवस्थापक सबैलाई आफ्ना सङ्कल्प र अठोटप्रति निरन्तर सजग रहन घचघच्याइ रहनेछ र आफ्नो राष्ट्रिय सभ्यताको नयाँ पृष्ठ जोड्ने अभियानमा यस गाथाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

(सम्पादकीय)


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies