राष्ट्रिय विभूति : जयप्रसाद यू.के.
नेपाल बहुभाषी, बहुजातीय र बहुधर्मी मुलुक भए पनि यसको उदयकालदेखि नै यहाँका जनजातिमा सहिष्णुताको भाव प्रबल रहेको पाइन्छ । नेपालको पुनरेकीकरण गर्ने सिलसिलामा पृथ्वीनारायण शाहले ठीकै भनेका थिए- 'सक्कली हिन्दुस्तान त नेपाल मात्र रहेछ ।' भौगोलिक विविधता भए पनि यहाँका जनजातिको मन भने विशुद्ध, पवित्र र सङ्लो छ । धर्मानुप्राणित यहाँका जनताको संस्कृति, रीतिरिबाज, वेशभूषा र हावभाव पनि समृद्ध नेपाली राष्ट्रियतालाई नै झल्काउन तम्तयार रहेको आभास वा अनुभूति हुन्छ । नेपाली राष्ट्रियताको संवर्धन गर्ने मुख्य कडी हुन्- भाषा र साहित्य । नेपाली जाति विश्वको जुनसुकै कुनामा पुगेर बसे पनि भाषा र साहित्यले उसलाई 'म को हुँ ?' भन्ने भावनाको उद्बोध गराउँछ । आफ्नो राष्ट्रियता र राष्ट्रको पहिचान नै भाषा, साहित्य र संस्कृति हो । सङ्कीर्ण जातीयताको घेरा नाघी विशाल नेपाली राष्ट्रियताको मैदानमा आउनु आजको आवश्यकता हो । राज्यको भूगोल मिचिन सक्छ । उदाहरणको लागि सुगौलीसन्धिअघिको विशाल नेपाल र त्यसपछिको खण्डित नेपालको मानचित्र हेरे पुग्छ । परन्तु राष्ट्र र राष्ट्रियताको भूगोल कहिल्यै मिच्न सकिँदैन, किनभने यो अन्तर्मनमा रहने पवित्र भावनाको भूगोल हो । यस्तो पवित्र तथा पावन भावनाको उत्थान गर्दछ- भाषा र साहित्यले ।
नेपाली भाषा र साहित्यको अवसान नेपाली जातिकै अवसान हो । नेपाली भाषा र साहित्यको श्रीवृद्धि नेपाली जातिकै श्रीवृद्धि हो । यो हरेक नेपालीको गौरवको विषय हो । नेपालमा अन्य भाषिक समूह पनि छन् । ती भाषिक समूहको उपेक्षा गरिनु हुँदैन, किनभने ती भाषिक समूह 'नेपाली राष्ट्रियता र राष्ट्र'का गहना हुन् । नेपाली भाषा र साहित्यको श्रीवृद्धि गर्न नेपाली जातिको राष्ट्रियताको विकाससँगसँगै विभिन्न समयमा विभिन्न महानुभाव लागिपरेका थिए । शौरसेनी प्राकृत भाषाबाट वर्तमान नेपालीभाषाको जन्म भएको हो भन्ने वर्तमान भाषाविज्ञहरूको राय छ । वर्तमान नेपालको सुदूर पश्चिमोत्तर क्षेत्रमा पर्ने 'खशान' क्षेत्रमा बोलिने यो भाषा 'खशकुरा', 'पर्वते बोली' र 'गोर्खाभाषा' हुँदै आज सम्पूर्ण नेपाली जातिको राष्ट्रभाषाको रूपमा स्थापित भएको छ र यसको नाम नै 'नेपालीराष्ट्रभाषा' रहेको छ । विदेशमा रहेका नेपाली जाति यसै नेपालीभाषालाई आफ्नो राष्ट्रियताको राष्ट्रभाषा ठानी यसकै मूल मियोमा आफ्नो राष्ट्रियता र राष्ट्रबोधको अस्तित्व रहेको कुरा महसूस गर्दछन् । यस्तो गौरवमय भाषाको श्रीवृद्धि गर्ने हेतुले रचिएका साहित्यका विभिन्न कालखण्डको परिवेशलाई नियाल्दा आधुनिक कालखण्डको सुरुआत यिनै त्रिमूर्ति- कविशिरोमणि लेखनाथ पौड्याल नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट भएको हो । यिनै त्रिमूर्तिको पूर्ण कदको सालिक स्थापित गरी उनीहरूका कृतिहरूको सङ्ग्रहालयको निर्माण गर्ने पुनीत उद्देश्यले उपर्युक्त पावन भूमिमा 'त्रिमूर्ति निकेतन'को स्थापना भएको हो ।
'त्रिमूर्ति निकेतन'को स्थापना अत्यन्तै जटिल, दुःसाध्य, कठोर र अतिमहत्त्वाकांक्षी कार्य थियो । यसको संयोजन गर्ने कार्य त अझ आकाशकुसुम नै थियो । कता उपयुक्त थलो मिलाउने, कता आर्थिक चाँजोपाँजो मिलाउने, कता सालिकको निर्माण गर्ने कुशल मूर्तिकार खोज्ने, कता गृहनिर्माणको लागि चाहिने वास्तुविद् छान्ने आदि इत्यादि । यी समस्या नै समस्याका काँडाघारीमा खुट्टा नलरबर्याई पाइला टेके नरेन्द्रराज प्रसाईले ।
ठुल्ठूला संस्थानहरूसम्मले चिताउन नसकेको, कथ्यमा मात्र सीमित रहेको कार्य सफल गराई देखाइदिए यिनै कर्मवीर नरेन्द्रराज प्रसाईले । यिनै नरेन्द्रराज प्रसाईको महत्त्वाकांक्षी योजनालाई सफल पार्न तन, मन र धनले सहयोग गर्ने सबै सम्बद्ध पक्ष निश्चय नै अन्योन्य साधुवादका पात्र छन् । 'त्रिमूर्ति निकेतन'को स्थापनाले के स्वदेशी, के विदेशी सबैको मन आकषिर्त नगरी रहन सक्दैन । नरेन्द्रराज प्रसाईको अतिमहत्त्वाकांक्षी योजनालाई साकार रूपमा परिणत गर्न सहकर्मीको रूपमा योगदान दिने इन्दिरा प्रसाईलाई पनि कम साधुवादकी पात्री मान्न सकिँदैन ।
सं.२००९ सालदेखि उठान गरिएको कुराले वि.सं. २०६१ सालमा आफ्नै सहभागितामा साकार रूप लिँदा इन्दिरा प्रसाई अत्यन्त खुशी हुनु कुनै अनौठो कुरो होइन । कृतज्ञताज्ञापन गर्ने मेसोमा उनीले ठीकै भनेकी छिन्- 'त्रिमूर्ति निकेतन'को स्थापनाक्षणलाई मैले मेरो जीवनको गौरवपूर्ण समय मानेकी छु ।' नेपालीभाषा र साहित्यानुरागीको लागि योभन्दा खुशी र आनन्दको समय अरु कुन हुन सक्छ र ।
'त्रिमूर्ति निकेतन'को निर्माणमा नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईसँगसँगै घटराज भट्टराईको भूमिका पनि स्तुत्य छ । नइ, भट्टराई तथा अन्य महानुभावहरूको सक्रियतामा सारा दुनियाले त्रिमूर्तिको सग्लो रूप देख्न पाए । आधुनिक नेपालीभाषा र साहित्यका सर्जक त्रिमूर्तिका पूर्ण कदको सालिकको अनावरण र 'त्रिमूर्ति निकेतन'को उद्घाटन विधिवत् वि.सं. २०६१ साल भदौ ११ गते शुक्रवार त्रिकन्याबाट भएको उद्घोषणले नेपाली भाषासाहित्यसेवी हरेक महानुभावको खुशीको लहर मुटुको स्पन्दनसँगै तरङ्गित भएको परैबाट प्रस्टै देखिन्छ । अझ खुशीको कुरो के छ भने यी त्रिकन्याहरूलाई स्नातक तहसम्म पढ्ने खर्चको चाँजोपाँजो मिलाउने व्यवस्था पनि यही 'त्रिमूर्ति निकेतन'ले नै जिम्मा लिएको कबोलसहितको उद्घोषणले यो शुभक्षण नेपाली भाषा साहित्यसेवीको लागि विजयोत्सवकै रूपमा अनूदित भएको अनुभूति भएको छ । यो गर्व सबैलाई लाग्नु स्वाभाविकै हो । यस्तो गौरवपूर्ण कार्यको प्रकाशपुञ्जलाई ओझेल पार्ने हेतुले नियोजित कुरूपता देखाउन हल्काफुल्का ससाना काला बादलका टाटा पनि कुनाकाप्चाबाट स्यालहुइय्याँ छोड्न पछि परेनन् । सुकीर्तिको प्रकाशमा कुकीर्तिको कालो बादलको टाटो कतिन्जेल रहन्छ र ? 'बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरुले बनाएको घर पनि भत्काउँछ' भन्ने तुक्का यसरी नै चरितार्थ हुन्छ । यस्ता छिद्रान्वेषी हुनु पनि बेशै हो, नत्र राम्रो र नराम्रोबीच भेद कसरी गर्ने ? जहाँ राम हुन्छन् त्यहाँ हराम पनि हुन्छन् । नत्र रामको महत्त्व कसरी पहिचान्ने ? सत्कार्य हुन असत्कार्य पनि भएकै हुन्छ । तब त सत्कार्यको महत्त्व हुन्छ । सत्कार्यकै मात्र वाद, विवाद, प्रतिवाद र गुणानुवाद हुन्छ । अब ती छिद्रान्वेषी महानुभावहरू 'त्रिमूर्ति निकेतन'को मार्ग हिँड्दा 'त्रिमूर्ति निकेतन'लाई पिकदानी सम्झलान् वा नतमस्तक भई आफ्नो दुर्वाच्यप्रति पश्चात्ताप गर्लान् यो समयले नै बताउने कुरो हो । यहाँ फोहोरलाई उधिनिरहने कुरा भएन । किनभने हिलैमा उम्रेको भए पनि कमलपुष्प मनोमोहक नै हुन्छ ।
अङ्ग्रेजहरूको शासनकालमा भारतमा सबै भारतीयहरूलाई अङ्ग्रेज पढ्ने विद्यालयमा पढ्न दिइँदैनथ्यो । सबै भारतीयहरूले समान किसिमले पढ्न पाउन् भनी केही भारतीय महामनीषीहरूले एउटा बेग्लै भारतीय भावना बोकेको विद्यालय खोल्ने योजना बनाए । फलतः भारतीय भावना बोकेको तथा अङ्ग्रेजहरूको विद्यालयसँग मुकाबिला गर्न सक्ने एउटा विश्वविद्यालयको स्थापना गर्ने कार्ययोजना बन्यो । तदनुसार बनारसमा 'बनारस हिन्दु विश्वविद्यालय'को स्थापना गर्ने पुनीत उद्देश्य लिई तदर्थ सहयोग एवम् अनुदान लिन प्रायः हरेक भारतीयको घरमा जाने योजना बनाइयो । यस पुनीत कार्यका अग्रज थिए- महामना श्री मदनमोहन मालवीय । मालवीयको योजनानुसार जसले जति र जस्तो दान दिन्छ त्यति नै त्यस्तै दान लिइने र त्यसको विवरण सबैले देख्ने ठाउँमा अभिलेखसहित राखिने भयो । त्यसै योजनानुसार कार्यसञ्चालन हुँदै गयो । अङ्ग्रेजभक्त केही महाजन र केही भारतीय रजौटाले 'बडो कहीँको खूब हिन्दु विश्वविद्यालय बनाउन कस्सिएको ला ¬ यसलाई अनुदान सहयोग भनी मदनमोहन मालवीयलाई थोत्रा जुत्ता मिल्काइदिए । तिनै 'मिल्काइएका थोत्रा जुत्ता' अनुदानको रूपमा स्वीकार्दै त्यसको पनि अभिलेख राखियो । पछि 'बनारस हिन्दु विश्वविद्यालयको विधिवत् स्थापना भयो । अङ्ग्रेज शासकहरूको टक्करमा बी.एच.यू.को स्थापना चुनौतीकै रूपमा रह्यो । अनुदानकर्ताहरूको अभिलेख सबैले देख्ने स्थानमा सार्वजनिक गरियो । त्यस अभिलेखमा ती रजौटा तथा महाजनहरूले जे, जति र जस्तो दान सहयोग दिएका थिए ती सबै त्यसरी नै अभिलेखबद्ध गरी सार्वजनिक गरिए । पछि ती राजारजौटा तथा महाजनहरूले, जसले पहिले हेय दृष्टिले यस कार्यलाई हेरेका थिए उक्त कार्य सम्पन्न भएको देखेर यसको दूरगामी सातत्य बुझी अतालिँदै उक्त सूचीबाट आफ्नो नाम हटाई 'महादानी बन्न' आफ्नो सम्पूर्ण धनसम्पत्ति अनुदान दिन तत्पर भए । किन्तु उनीहरूबाट संस्थापक महोदयहरूले अरु कुनै पनि अनुदान ग्रहण गर्न मानेनन्, बरु उल्टै सौहार्दको लागि धन्यवाद दिएर फर्काइदिए । समयमा जे भयो- भयो, त्यो अध्याय त्यस सन्दर्भमा त्यहीँ टुङ्गियो र टुङ्गिनु पनि पर्छ । समयमा ढङ्ग र बुद्धि नपुर्याए यस्तै हीनताबोध र पश्चात्ताप हुन्छ । समयको माग समयमै बुझ्न नसक्दा समय गुज्रेपछि खिन्न हुनु र पश्चात्ताप गर्नुबाहेक अर्को विकल्प नै के हुन्छ र ? समयले कसैलाई पर्खने होइन । समय बित्यो, गयो र इतिहास बन्यो । आज त्यही विश्वविद्यालय भारतको गौरव भएको छ । त्यहाँ शिशुकक्षादेखि डी.लिट.सम्मको पढाइ हुन्छ । त्यहाँ भजन, कीर्तन र धार्मिक तथा सांस्कृतिक विषयको गोष्ठी र प्रवचन गराइन्छ । त्यहाँ भूतप्रेतविद्यादेखि जादुटुनासम्मका विषयको पढाइ हुन्छ । आधुनिक विज्ञानदेखि शास्त्रीय विज्ञानसम्मको अध्ययन गराइन्छ । मोटामोटी ३६ भाषाको पढाइ गराइने त्यस विश्वविद्यालयको वाषिर्क खर्च नेपालको वाषिर्क बजेटभन्दा ११० रुपियाँ बढी हुन्छ । ती थोत्रा जुत्ता मिल्काएर दान दिने ठालुहरूले समयमा यस महान् कार्यको भव्यता र दूरगामी प्रभाव राम्ररी बुझेका भए थोत्रा जुत्ता मिल्काएर दान दिने महानुभावहरूको कोटिमा शायद उनीहरूको नाम अभिलेखबद्ध हुने थिएन । यही हो- 'कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुद्धि' भनेको । पेट पापी र मन लोभी भएका जनताको आलाप मार्ने कतिपय उच्छिष्टभोजी लाल उपबुज्रुकहरू समयको गति बुझ्न नसकी यस्तै हेय र छिछिल्ला काम गरी ठालु पल्टँदै आप्नो जागीर पकाउँछन् । यस्ता पेशेवार महानुभावहरूलाई समयबोध गराउन उल्टोपट्टबाट धन्यवाद दिनैपर्दछ । पद, प्रतिष्ठा र शुभ लाभको खोजीमा भौँतारिरहेको आजको जागरूक भनाउँदो तप्को 'हुने खाने हुँ' भन्ने बताउन यतिखेर गौँथली, जुरेली, भँगेराका गुँडे संस्कृतितिर लोभिएर भ्रष्टाचार हुर्काइरहेको छ । आजको यो कोलाहलमय सङ्कटग्रस्त नेपाल बनाउन यो नयाँ वर्गको नयाँ तप्काको यथेष्ट योगदान र सहयोग छ । प्रजातन्त्रको पुनःस्थापनाको यो झन्नै डेढ दशक लामो कालमा यो नयाँ वर्गको नयाँ तप्काले सत्तामा पुगेर देश र जनताको मुहार हँसिलो पार्न के चाहिँ ठोस योगदान दियो र ? यस्तो ऊहापोहमा यस राष्ट्रमा कुनै काम राम्रो भयो भने त्यो काम हो- नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको व्यक्तिगत पहलमा स्थापित 'त्रिमूर्ति निकेतन'को निर्माण । अब यी त्रिमूर्तिहरूलाई राजकीय सम्मानसाथ राष्ट्रिय विभूति घोषणा गर्ने साइत कहिले जुर्ने हो, यो प्रतीक्षाकै विषय छ ।
आज यो टिपोटकार आफ्नो अतीततिर फर्केर स्मरण गर्दछ- उसले कक्षा ४ बाट कक्षा ६ मा लामो फड्को मार्दा नेपाली विषयको पढाइमा आजका यिनै त्रिमूर्तिलाई 'नेपालीसाहित्यका त्रिरत्न' भनी पढाइएको थियो । त्यसवेला पाठयक्रमको निर्धारण बङ्गालको 'म्याट्रिकक्युलेशन एग्जामिनेशन बोर्ड'बाट हुने गरेको थियो । शायद नेपालको सुदूरपूर्वी पहाडी इलाकातिर पनि त्यसवेला यही पाठयक्रम चालु थियो । नेपालको एस.एल.सी. बोर्डको होइन । यी त्रिरत्न ठमेलका लेखनाथ, ज्ञानेश्वरका बालकृष्ण र मैतीदेवीका लक्ष्मीप्रसाद रहेछन् भन्ने थाहा पाउँदा त्यस कालमा हामीलाई ती ठाउँ पवित्र तीर्थस्थल भएको जस्तो लाग्थ्यो ।
नेपालमा राणाकाल रहेको बखत थियो । अहिलेको गणतन्त्र भारतको अधीनस्थ, पुरानो विशाल नेपालको भूमि देहरादूनबाट नेपाली साहित्यिक पत्रिकाको स्वस्फूर्त प्रकाशन भयो । यस कार्यबाट बनारसमा हुने नेपालीहरूको जमघटले एउटा हौसला पायो । दार्जिलिङमा पुग्दा 'कलकत्ता यूनिभर्सिटी'को प्रोत्साहनले त्यहाँ नेपाली समुदायमा नेपालीभाषाको पढाइ सञ्चालित भयो । फलतः त्यहाँ नेपाली भाषा र साहित्यको अभिवृद्धि हुन थाल्यो । यसै सिलसिलामा दार्जिलिङमा भानुभक्त आचार्य जातीय कविका रूपमा अनि लेखनाथ, बालकृष्ण र लक्ष्मीप्रसाद त्रिरत्नका रूपमा घोषित र स्थापित भए ।
दार्जिलिङभ्रमणको सिलसिलामा त्यहाँका नेपालीभाषा तथा साहित्यका सेवी महानुभावहरूको अनुरोधमा देवकोटाले आँसु भन्ने शीर्षकमा १०१ पदको करुण लघुकाव्य तत्कालै मौखिक रूपमा धाराप्रवाह सुनाएका थिए । उनको यो अद्भुत काव्यप्रतिभा देखेर त्यहाँको नेपाली समाजले उनलाई 'आशुकवि'को दर्जा दिएको थियो । पछि भारतीमा यो लघुकाव्य प्रकाशित भएको थियो । भारती १०८ अङ्कसम्म मात्र प्रकाशित भएको थियो । त्यसवेला नेपालमा यी महामानुषहरूलाई जागीरे नोकरका रूपमा मात्र हेरिन्थ्यो, भाषा तथा साहित्यका सेवक तथा साधकका रूपमा होइन । देवकोटाले 'आशुकवि' तथा 'महाकवि'को सम्मान भारतीय नेपालीभाषी जनताबाटै पाएको हो । अझैसम्म यो सम्मान औपचारिक रूपमा नेपालले दिन सकेको छैन ।
त्यस्तो वेलामा पनि आँखामा आँसु र मुखमा हाँसो देखाएर यी त्रिरत्नले नेपालीभाषा र साहित्यको जुन सेवा र साधना गरी हामीलाई राष्ट
|