Trimurti Niketan Trimurti Niketan Trimurti Niketan

साहित्यिक उत्सव: जयदेव भट्टराई

साहित्यिक उत्सव

जयदेव भट्टराई

समय अनेक फड्का मारेर अघि बढे पनि, धेरै अघि बढे पनि नेपालीसाहित्य अझै लेखनाथ, सम, देवकोटामै केन्द्रित छ । त्यसो त साहित्यिक जगत्मा लेखनाथ, सम र देवकोटाभन्दा अघि र पछिका पुस्ताले साहित्यमा आआफ्नै छाप छोडेका छन्, आआफ्नै विशेषता कायम गरेका छन्, तथापि तीनजनाको महत्त्व बेग्लै छ, विशिष्ट छ । यी तीन व्यक्तिबारे मनग्गे अध्ययन र मूल्याङ्कन भएको छ । भानुभक्त आचार्यको कुरा भने बेग्लै छ । आदिकविका कैयौँ सालिकको स्थापना भएको छ उनको रामायणजस्तो लोकप्रिय र बिक्रीवितरणमा कीर्तिमान प्राप्त कृति पाउन हम्मे छ ।

काठमाडौँस्थित लेखनाथ साहित्य सदनलगायत विभिन्न ठाउँमा लेखनाथको, ज्ञानेश्वरलगायत अन्य ठाउँमा समको र सांस्कृतिक सङ्घलगायत कैयौँ ठाउँमा देवकोटाको सालिक ठडिएको धेरै भइसक्यो । यी तीन मूर्तिको गत भदौ ११ गते २०६१ सालमा काठमाडौँ चक्रपथ, सञ्चारग्राममा तीनवर्षका बालिका रचना सुब्बा, सङ्गीता आचार्य र प्रमिला विश्वकर्माबाट पूर्ण कदको सालिक अनावृत भएको दिन नेपाली साहित्यले बेग्लै आयाम थपेको दिन बन्न पुगेको छ । पूर्ण कदको त्यो पनि तीनतीन जनाको सालिकसहित त्रिमूर्ति निकेतनको स्थापना साहित्यिक जगत्मा विशेष उपलब्धिको रूपमा हेरिएको छ र हेरिनुपर्छ पनि । अनेक व्यक्तिको सालिक बनाएर ख्याति कमाइसक्नुभएका वरिष्ठ कलाकार बालकृष्ण तुलाधरको कलाकारिता विभिन्न दाता एवं सङ्घसंस्थाको उदारता, साहित्यकारद्वय नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको सक्रियता अनि तमाम साहित्यकार साहित्यप्रेमीको तीव्र चाहनाले तीन मूर्तिको सालिक ठडिएको दिन नेपालीसाहित्यको शिखर अझ चुलिएको हुनुपर्छ, धेरैको यस्तो अनुभव छ ।

नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई, घटराज भट्टराई जस्ता साहित्यिक व्यक्तित्वहरूको प्रत्यक्ष संलग्नता अनि अप्रत्यक्ष रूपमा सघाउ पुर्‍याउने थुप्रै सहयोगी हातहरूको स्मरण गर्नैपर्छ । उदार मनले सहयोग गर्ने धेरै हुन सक्छन् यस्तो पुनीत कार्यमा । तर कोही नाम लिनैपर्दा संस्कृति मन्त्रालय, सीताराम प्रज्ञाप्रतिष्ठान, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान, बालकृष्ण सम फाउन्डेशन, भूपालमानसिंह कार्की प्रज्ञापरिषद्, देरुनिख सार्वजनिक हित गुठीको आर्थिक सहयोग यसमा उल्लेख्य छ । यी गुठीहरूमा नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई र घटराज भट्टराईको कुनै न कुनै रूपमा संलग्नता रहेकै छ । यसरी सक्रिय रहेर पनि सहयोगको यात्रामा सहभागी हुनु भने साँच्चै प्रशंसनीय कार्य हो ।

मुलुकका साहित्यकार कलाकारको नाममा वा स्मृतिमा स्थापित स्मारकहरू कमै छन्, भएका पनि प्रायः उपेक्षति नै छन् । राजधानी काठमाडौँमा अवस्थित त्रिमूर्ति तीर्थस्थललाई साहित्यकारहरूको, साहित्यप्रेमीहरूको सक्रियताको थलो बनाउन सकियो भने, चहलपहलको थलो बनाउन सकियो भने यस्ता प्रयास सार्थक हुने थियो । बन्नु स्थापित हुनु जति ठूलो कुरो हो त्यति नै ठूलो कुरो यसको महत्त्व बुझेर अघि बढ्नु हो, यसलाई अघि बढाउनु हो । साहित्यिक जगत्मा आआˆनै किसिमले विशिष्ट महत्त्व भएका साहित्यिक त्रिमूर्तिप्रतिको श्रद्धा एवं सम्मानको भाव देख्दा लाग्छ  साहित्यिक उत्सव एवं भाषिक गतिविधिमा सञ्चारग्राममा अवस्थित त्रिमूर्तिमा श्रद्धालुहरूको घुइँचो लाग्ने नै छ ।

दिनप्रतिदिन साँघुरिँदै गएको काठमाडौँको केन्द्रमा रहेका ठमेल कविशिरोमणि लेखनाथको निवास, ज्ञानेश्वर नाटयसम्राट् बालकृष्ण समको निवास र डिल्लीबजार मैतीदेवी महाकवि देवकोटाको निवास बढ्दो आवास र बजारले गर्दा साँघुरिँदै गइसके । त्रिमूर्ति सालिकको स्थापना भएको स्थान सानै भए पनि यी विराट् व्यक्तित्वको प्रकाशले निश्चय पनि फराकिलो बनेको छ । लेखनाथ, सम, देवकोटाजस्ता महान् प्रतिभाहरूको योगदान र विराट् प्रतिभाबाट प्रेरित भएर निर्माण गरिएको त्रिमूर्ति निकेतन साहित्यिक गतिविधिमा उत्तिकै सक्रिय भएर लाग्छ भन्ने विश्वास धेरैमा पलाएको छ । एउटा स्रष्टाको सम्झना गर्दा वा सम्मान गर्दा अरु दुई स्रष्टाको पनि सम्झना र सम्मान हुने यो थलो भाषासाहित्यप्रति मोह राख्ने र भाषासाहित्यसेवीप्रति श्रद्धासुमन चढाउनेहरूका लागि तीर्थस्थल नै बन्न पुगेको छ ।

चर्चित कलाकार के.के. कर्माचार्य चित्रकार र तेम्बा शेर्पा इन्जिनियर रहनुभएको त्रिमूर्तिको निर्माणमा कलाकार बालकृष्ण तुलाधरको उल्लेख्य योगदान रहेको छ ।

गोर्खापत्र २०६१ भदौ १९ गते, शनिवार


© २०६३ (2007), सर्वाधिकार सुरक्षित
त्रिमूर्ति निकेतन
सञ्चारग्राम, काठमाडौं, नेपाल
trimurtinepal@gmail.com
designed by: Lakeside Techies