त्रिमूर्ति समाचार
सातौं त्रिमूर्ति दिवस सम्पन्न
काठमाडौं, २०६८ भदौ १५ गते
त्रिमूर्ति निकेतनले आज एक समारोहका माझ सातौं त्रिमूर्ति दिवस मनायो । त्यस अवसरमा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँलाले नेपाल तथा भारतका ६ जना महानुभावलाई पुरस्कार र सम्मान प्रदान गर्नुभयो ।
आज 'त्रिमूर्ति पुरस्कार'बाट पुरस्कृत हुनेहरुमा भारत दार्जीलिङका कृष्णसिंह मोक्तान र मोहन ठकुरी हुनुहुन्छ । यी पुरस्कारका राशि जनही पच्चीस हजार रुपियाँ रहेका छन् ।
नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि विशिष्ट योगदान गरेवापत मोक्तान र ठकुरीलाई 'त्रिमूर्ति पुरस्कार' प्रदान गरिएको हो ।
समारोहमा त्रिमूर्ति निकेतनको अन्तर्राष्ट्रिय सम्पर्क समितिका संयोजक डा.सत्यमोहन जोशीलाई काठमाडौं विश्वविद्यालयबाट महाविद्यावारिधिको उपाधि प्रदान गरिएकोमा प्रमुख अतिथि बैरागी काइँलाद्वारा दोसल्ला ओढाएर सम्मान गरियो ।
समारोहमा बैरागी काइँलाले सिन्धुराज्यलक्ष्मी राणाको सौजन्यमा प्रकाशित तथा माधव वियोगीद्वारा रचित बालकृष्ण समको गाथामा आधारित महाकाव्य 'नाट्यसम्राट्'को लोकार्पण गर्नुभयो ।
साथै आज डा. शैलेन्दुप्रकाश नेपाल लेखनाथ पौड्याल पुरस्कार, मनबहादुर मुखिया बालकृष्ण सम पुरस्कार र तोया गुरुङ देवकोटा काव्य पुरस्कारबाट पुरस्कृत हुनुभयो । यी पुरस्कारका राशि जनही दस हजार रुपियाँ रहेका छन् ।
नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि चार दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली आधुनिक कविताको विकासमा विशिष्ट योगदान पुर्याएवापत श्रीमती तोया गुरुङलाई 'देवकोटा काव्य पुरस्कार' प्रदान गरिएको हो ।
त्यसै गरी नाट्यक्षेत्रमा समर्पित भई नाटकको महिमा र गरिमालाई उत्कृष्ठताको शिखरमा पुर्याउन उद्धत श्री मनबहादुर मुखियालाई 'बालकृष्ण सम पुरस्कार' प्रदान गरिएको हो ।
साथै नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्याएबापत डा.शैलेन्दुप्रकाश नेपाललाई 'लेखनाथ काव्य पुरस्कार' प्रदान गरिएको हो ।
त्यस अवसरमा त्रिमूर्ति निकेतन उद्यानको संरक्षणमा पुर्याएको योगदानका लागि भूमिगत जलस्रोत विकास समितिका कार्यकारी निर्देशक श्री प्रमोदराज शर्मालाई 'त्रिमूर्ति सम्मान' प्रदान गरियो ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँला, उपकुलपति गङ्गाप्रसाद उप्रेती, लेखनाथ पौड्याल काव्यसभाका संयोजक खनूपरुदे रामबाबू, बालकृष्ण सम फाउन्डेशनका संयोजक प्रा.डा.गार्गी शर्मा, अन्तर्राष्ट्रिय सम्पर्क समितिका संयोजक डा.सत्यमोहन जोशी, त्रिनारी रत्न स्मारकका संयोजक डा.मोदनाथ प्रश्रित र सदस्यसचिव नरेन्द्रराज प्रसाईले पनि बोल्नु भएको थियो ।

कृष्णसिंह मोक्तान, वैरागी काइँला,
मोहन ठकुरी र गङ्गाप्रसाद उप्रेती
|