परिचय
नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।
२०६१ साल भदौ ११ गते त्रिमूर्तिका पूर्ण कदका (ढलोटबाट निर्मित छ फुट उचाइका) सालिकको अनावरण भएको थियो । सञ्चारग्रामस्थित त्रिमूर्तिस्थलमा नेपाली शैलीको घरको छानामा त्रिमूर्तिलाई विराजमान गराइएको छ भने घरभित्र त्रिमूर्ति विषयक कृतिहरू सङ्कलित त्रिमूर्ति पुस्तकालयको सञ्चालन गरिएको छ ।
त्रिमूर्ति निकेतन घटराज भट्टराई, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको परिकल्पना, सक्रियता र समर्पणमा निर्माण भएको हो । निकेतनको स्थापनामा जनरल भूपालमानसिंह कार्की, खनूपरुदे 'रामबाबू', सीताराम प्रसाई, रामचन्द्र तिमोथी, सलोमी लेप्चा, डा.मोदनाथ प्रश्रित, नरहरि आचार्य, हरिहर 'विरही', तारानाथ दाहाल, कलाकार के.के.कर्माचार्य, इन्जीनियर टेम्बा शेर्पा तथा मूर्तिकार बालकृष्ण तुलाधरको उल्लेख्य भूमिका रहेको छ ।
त्रिमूर्ति निकेतनले आफ्ना कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आइरहेको छ । यस निकेतनले हरेक वर्ष त्रिमूर्ति दिवसका अवसरमा त्रिमूर्तिका नाउँमा लेखनाथ पौडयाल पुरस्कार, बालकृष्ण सम पुरस्कार र देवकोटा काव्य पुरस्कार विभिन्न स्रष्टाहरूमा समर्पण गर्दै आएको छ । यसका अतिरिक्त आवश्यकतानुसार नेपाली भाषासाहित्यमा समर्पित महानुभावलाई उपाधि र त्रिमूर्ति निकेतनका सेवामा समर्पित महानुभावहरूमा निकेतनले त्रिमूर्ति पुरस्कार, त्रिमूर्ति सम्मान र त्रिमूर्ति पदक पनि समर्पण गर्दै आएको छ ।
|